वायन रुनी

बर्मिङहमका प्रशिक्षक रुनी बर्खास्त

काठमाडौं । च्याम्पियनसिप क्लब बर्मिङहम सिटीले मुख्य प्रशिक्षक वायन रुनीलाई बर्खास्त गरेको छ ।

जिम्मेवारी सम्हालेको १५ खेलपछि रुनीलाई बर्मिङहमले बर्खास्त गरेको हो । बर्मिङहमले अक्टोबरमा मात्र प्रशिक्षक जोन युस्टेसलाई हटाएर रुनीलाई टोलीको जिम्मेवारी दिएको थियो । जतिबेला रुनीले भर्खर एमएलएल क्लब डिसी युनाइटेडको पद छाडेका थिए ।

च्याम्पियनसिपमा छैटौं स्थानमा रहँदा बर्मिङहमले रुनीलाई क्लबमा आवद्ध गरेको थियो । तर, रुनीको नेतृत्वमा क्लबले गतिलो प्रदर्शन गर्न सकेन । १५ खेलमध्ये मात्र दुई खेलमा जित हासिल गरेको बर्मिङहम अहिले २० औं स्थानमा झरेको छ ।

नयाँ वर्षमा लिड्स युनाइटेडसँग ३-० को हार ब्यहोरेपछि बर्मिङहम व्यवस्थापन रुनीलाई बर्खास्त गर्ने निर्णयमा पुगेको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै क्लबले रुनीलाई जिम्मेवारीबाट हटाएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बर्मिङहम सिटीले आज मुख्य प्रशिक्षक वायन रुनी र रणनितिक प्रशिक्षक कार्ल रोविनसनसँगको सम्झौता रद्ध गरेको छ । यद्यपि क्लबका लागि उनीहरुको प्रयास राम्रो थियो । नतिजा क्लबको पक्षमा नआएका कारण बोर्ड यो निर्णयमा पुगेको हो ।’

बर्मिङहमको जिम्मेवारीमा रहँदा रुनी

रुनीले मिडल्सबर्गविरुद्ध १-० को हार ब्यहोर्दै बर्मिङहमको यात्रा सुरु गरेका थिए । मिडलस्बर्ग त्यही टोली हो जसको नेतृत्व रुनीका म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्ड सहकर्मी माइकल क्यारेकले गरिरहेका छन् । अहिले मिडल्सबर्ग तालिकाको १२ औं स्थानमा छ ।

रुनीले छैटौं खेलमा आएर बल्ल पहिलो जित हासिल गरेका थिए । जतिबेला बर्मिङहमले रेलिगेसनबाट संघर्षरत सेफिल्ड वेन्सडेलाई २-१ ले पराजित गरेको थियो । अर्को जित मध्य डिसेम्बरमा कार्डिफविरुद्ध आएको थियो ।

प्रशिक्षक करिअरमा रुनीले १ सय ५३ खेलमध्ये ४० मा मात्र जित हासिल गरेका छन् । डिसी युनाइटेडअघि रुनी तेस्रो डिभिजनको लिग वान क्लब डर्बी काउन्ट्रीको जिम्मेवारीमा थिए ।