साउदी प्रो लिग

रोनाल्डो र माने चम्किदा अल नासरको सहज जित

काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र साडिओ माने चम्किएपछि अल नासरले साउदी प्रो लिगमा अल इत्तिहादलाई ५–२ ले हराएको छ ।

मंगलबार राति रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि अल नासरले पुनरामगन जित निकालेको हो । जितपछि १८ खेलबाट ४३ अंक जोडेको अल नासर दोस्रो स्थानमा छ । समान खेलबाट ५० अंक जोडको अल हिलाल शीर्षस्थानमा छ । २८ अंक जोडेको अल इत्तिहाद छैटौं स्थानमा रह्यो ।

अल नासरको जितमा रोनाल्डो र मानेले समान दुई गोल गरेका हुन् । एक गोल एन्डर्सन टालिस्काको नाममा रहयो । इत्तिहादको लागि अब्देराजक हम्दाल्लहले दुबै गोल गरे ।  खेलको ६६औं मिनेटमा फाबिन्होले रातो कार्ड पाउँदा इत्तिहाद १० खेलाडीमा सिमित भएको थियो ।

खेलको १४औं मिनेटमा करिम बेन्जेमाको पासमा हम्दाल्लाहले गोल गर्दै इत्तिहादलाई अग्रता दिलाए । पेनाल्टीमा गोल गर्दै रोनाल्डोले १९आंै मिनेटमा बराबरी गोल गरेका हुन् । ३८औं मिनेटमा टालिस्काले २–१ को अग्रता दिलाए । ५१औं मिनेटमा हम्दाल्लाहले २–२ को बराबरीमा ल्याएका थिए । तर, १० खेलाडीमा सिमित भएको फाइदा उठाउँदै अल नासरले थप तीन गोल गरेको थियो ।

६८औं मिनेटमा रोनाल्डोले अर्काे पेनाल्टीमा गोल गरे । ७५औं मिनेटमा टालिस्काको पासमा मानेले गोल गरे । ८२औं मिनेटमा स्टाभिओको पासमा मानेले गोल गर्दै सहज जित दिलाएका हुन् ।