एएफसी च्याम्पियन्स लिग

अल हिलालको रोमाञ्चक जित

काठमाडौं । अल हिलाले एएफसी च्याम्पियन्स लिगमा सोमबार नसाजी मजान्दरनमाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै ६ खेलमा १६ अंक जोडेको अल हिलाल समूह ‘डी’ को शीर्ष स्थानमा रहेर अर्को चरणमा प्रवेश गरेको छ । पराजय ब्यहोरेको मजान्दरन समान खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।

घरेलु मैदान प्रिन्स फैसल बिन फहद रंगशालामा अल हिलाललाई जित दिलाउन माइकल र सलिम अलदवसरीले गोल गरे । मजान्दरनका लागि मोहम्मद रहमतीले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमै माइकलको गोलमार्फत अल हिलालले अग्रता लिएको थियो । उनले मोहम्मद अल्बुराइकको पासलाई सदुपयोग गरेका थिए ।

५४ औं मिनेटमा अब्दुल्लाह अल हमदानको पासलाई पोस्टको दिशा दिँदै अलदवसरीले टोलीको अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा राहमतीले गोल गर्दै मजान्दरनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।