युइएफए च्याम्पियन्स लिग

रियालले नापोलीलाई हरायो

काठमाडौं । रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा बुधबार नापोलीमाथि ४-२ को सहज जित निकालेको छ ।

जितसँगै लगातार पाँचौं जितसँगै पाँच खेलमा १५ अंक जोडेको रियाल समूह ‘सी’ को शीर्ष स्थानमा छन् । पराजय ब्यहोरेको नापोली समान खेलबाट सात अंकका साथ दोस्रो स्थानमा छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउल रोड्रिगो, जुड बेलिङ्घम, निको पाज र जोसेलुले गोल गरे । नापोलीका लागि जियोभानिय सिमियोनी र आन्द्रे एन्गुइसाले गोल गरे ।

खेलमा अग्रता भने नापोलीले लिएको थियो । खेलको नवौं मिनेटमा सिमियोनीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

नापोलीको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । दुई मिनेटपछि नै रोड्रिगोले रियाललाई बराबरीमा ल्याए ।

२२ औं मिनेटमा बेलिङ्घमले गोल गर्दा रियाल २-१ ले अगाडि बढ्यो । ४७ औं मिनेटमा एन्गुइसाले गोल गर्दा अ‍ेल २-२ को बराबरीमा आयो ।

८४ औं मिनेटमा पाज र इन्जुरी समयमा जोसेलुले गोल गरेपछि रियालले ४-२ को जित निकल्यो ।

यही समूहको अर्को खेलमा युनियन बर्लिन र क्लब ब्राग १-१ को बराबरीमा रोकिएका छन् ।