नेपाल सुपर लिग

नेपाल सुपर लिगः पोखरा र ललितपुरबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणअन्तर्गत पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

प्रतियोगिताको छैटौं दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार जारी खेलमा दुबै टोलीले केही राम्रा अवसर सृजना गरेपनि अग्रता लिन सकेका छैनन् । यसबीच ललितपुरले आफ्नो महत्वपूर्ण खेलाडी गुमाएको छ । सुरुआती १० मिनेटमै रक्षक सनिस श्रेष्ठ चोट बोक्दै मैदान छाड्न बाध्य भएका थिए । सनिसलाई मिडफिल्डर रोशन पाहारीले प्रतिस्थापन गरेका छन् ।

छैटौं मिनेटमा भाग्यले साथ नदिँदा पोखरा अग्रता लिनबाट बन्चित भयो । रक्षक फ्र्यान्क्लिन कोयेटे टालाको थ्रु बलको सदुपयोग गर्दै फरवार्ड मोसेस ट्वामले गरेको प्रहार दोस्रो बारको लोअर कर्नरमा लागेर फर्किएको थियो ।

निर्धारित हाफको मध्यतिर मिडफिल्डर निखिल कदमको क्रसमा पेनाल्टी बक्सभित्र कुनैपनि निगरानीमा नरहेका फरवार्ड पापा इबो केबेले हेडर नभेट्टाउँदा ललितपुरले पहिलो अवसर खेरा फालेको थियो ।

३३औं मिनेटमा गोलकिपर प्रिसो एन्जाङ्गा बाधक बन्दा ललितपुरले अग्रता लिने अर्को मौका गुमाएको थियो । मिडफिल्डर अनिल महर्जनको कर्नरमा मार्की खेलाडी तथा कप्तान अनन्त तामाङको हेडरलाई प्रिसोले बचाएका थिए । त्यसको चार मिनेटपछि ललितपुरले अर्को सेटपीस अवसर पाएको थियो । तर, ओमोलाजा करिमको फ्रिकिक प्रहारले प्रिसोलाई बिट गरेपनि गोल पोस्टको दिशा लिन सकेन ।

दुबै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । पहिलो खेलमा पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको थियो । ललितपुरले भने बुटवल लुम्बिनीमाथि २–० को सहज जित हासिल गरेको थियो ।