इङ्लिस प्रिमियर लिग

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुल आइतबार घरेलु टोली ब्राइटनसँग २-२ को बराबरीमा रोकिएको छ ।

बराबरीसँगै ८ खेलमा १७ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ । ब्राइटन समान खेलबाट १६ अंकका साथ छैटौं स्थानमा छ ।

फाल्मर रंगशालामा लिभरपुलका लागि दुवै गोल मोहम्मद सलाहले गरे । ब्राइटनका लागि साइमन एडिन्ग्रा र लुइस डन्कले गोल गरे ।

खेलको २० औं मिनेटमा एडिन्ग्राको गोलमार्फत ब्राइटनले अग्रता लिएको थियो । ४० औं मिनेटमा सलाहले लिभरपुललाई बराबरीमा ल्याए ।  उनले डार्विन नुनेजको पासलाई सदुपयोग गरेका थिए ।

पहिलो हाफको इन्जुरी सयममा सलाहले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल २-१ ले अगाडि बढेको थियो ।

७८ औं मिनेटमा डन्कले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो । डन्कले सोली मार्चको पासलाई पोस्टको दिशा दिए ।  

आइतबार नै सम्पन्न अन्य लिग खेलमा क्रिस्टल प्याले नटिङघक फरेस्टसँग गोलरहित, उल्भरह्यामटन एस्टनभिल्लासँग १-१ र वेस्ट हम युनाइटेड न्युक्यासल युनाइटेडसँग २-२ को बराबरीमा रोकिए ।