कोन्काफ नेसन्स लिग

अमेरिका फाइनलमा

काठमाडौं । मेक्सिकोमाथि ३-० को सहज जित निकाल्दै अमेरिका कोन्काफ नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

एलिजिएन्ट स्टेडियममा शुक्रबार सम्पन्न सेमिफाइनलमा घरेलु टोली अमेरिकालाई जित दिलाउन क्रिस्टियन पुलिसिकले दुई तथा रिकार्डो पेपीले एक गोल गरे ।

खेलको ३७औं मिनेटमा पुलिसिसको गोलमार्फत अमेरिकाले अग्रत लिएको थियो । दोस्रो हाफको सुरुआतमै पुलिसिसले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

७८औं मिनेटमा पेपीले गोल गर्दै अमेरिकालाई ३-० को सहज जित दिलाए ।

निकै तनावपूर्ण बनेको खेलमा दुवै टोली नौ खेलाडीमा समेटिएका थिए ।

६९औं मिनेटमा फोलारिन बालोगनमाथि गम्भीर फउल गरेपछि सेजर मोन्टेसले सिधै रातो कार्डको सामना गरेपछि मेक्सिको १० खेलाडीमा समेटिन पुग्यो । त्यसमै आक्रमक बनेका वेस्टन म्याकिनेले सिधै रातो कार्ड ब्यहोर्दा अमेरिका पनि १० खेलाडीमा समेटियाे। 

८५औं मिनेटमा एक अर्काविरुद्ध झगडामा उत्रिएपछि मेक्सिकोका जेरार्डो अर्टेगा र अमेरिकाका सर्जिनो डेस्टले रातो कार्ड ब्यहोरेका थिए ।

अमेरिकाले उपाधिका लागि सोमबार बिहान क्यानाडाको सामना गर्नेछ । क्यानाडाले पानमालाई २-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित  गरेको थियाे।