एसिया कप क्रिकेट

अफगानिस्तानले दियो श्रीलंकालाई १७६ रनको लक्ष्य

दुबई । एसिसी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा अफगानिस्तानले शृंलकासामू एक सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित सारजाह क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रनको योगफल तयार गर्यो ।

अफगानिस्तानका ओपनर रहमदुल्लाह गुर्बजले सर्वाधिक ८४ रन बनाए । उनले ४५ बलमा चार चौका र ६ छक्का प्रहार गरे । यस्तै, इब्राहिम ज्रदानले ४०, नजिबुल्लाह जद्रानले १७ र हज्रतुल्लाह जजाईले १३ रन जोडे ।

श्रीलंकाका दिल्सान मदुसन्काले दुई विकेट लिए । यसबाहेक, महिस थिक्क्षणा र एसिथा फर्नान्डोले समान एक विकेट लिए ।

यसअघि समूह चरणको खेलमा अफगानिस्तानले श्रीलंकालाई आठ विकेटले पराजित गरेको थियो ।

सुपर फोरबाट शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।