काठमाडौं । जोस बटलरको उत्कृष्ट प्रदर्शनप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार दिल्ली क्यापिटल्सविरुद्ध सात विकेटको जित निकालेको छ ।
जितसँगै सात खेलमा १० अंक जोडेको गुजरात शीर्ष स्थानमा उक्लिएको छ । पराजित दिल्ली समान खेलबाट १० अंकका सात दोस्रो स्थानमा झरेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंशालामा दिल्लीले प्रस्तुत गरेको २०४ रनको लक्ष्य घरेलु टोली गुजरातले चार बल बाँकी रहँदा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
गुजरातका लागि बटलरले ५४ बलमा ११ चौका र चार छक्काको मद्दतले अविजित ९७ रनको योगदान गरे । यसैगरी शेर्फेन रदरफोर्डले ४३, साई शुदर्शनले ३६ र राहुल तेवाटियाले अविजित ११ रन बनाए ।
जोसले तेस्रो विकेटका लागि शेर्फेनसँग ११९ र दोस्रो विकेटका लागि साइसँग ६० रनको साझेदारी गरेका थिए ।
दिल्लीका लागि मुकेश कुमार र कुलदीप यादवले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०३ रनको योगफल तयार पार्यो ।
दिल्लीका लागि कप्तान अक्षर पटेलले ३९, आशुतोष शर्माले ३७, करुण नायर र ट्रिस्टन स्टब्सले समान ३१, केएल राहुलले २८ र अविषेक पोरेलले १८ रन बनाए ।
चौथो विकेटका लागि अक्षर र ट्रिस्टनले ५३ रनको साझेदारी गरेका थिए । गुजरातका लागि प्रसिद्ध कृष्णाले चार तथा मोहम्मद सिराज, इशान्त शर्मा, साई किशोर र अर्शद खानले समान एक विकेट लिए ।