काठमाडौं । किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा आइतबार सेल्टाभिगोविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्दै लिग लिडर बार्सिलोनासँगको अंक दूरी घटाएर चारमा पुर्याएको छ ।
जितसँगै दोस्रो स्थानको रियालले ३४ खेलबाट ७५ अंक जोडेको छ । बार्सिलोनको समान खेलबाट ७९ अंक छ ।
यता पराजित सेल्टा भिगो ३४ खेलबाट ४६ अंकका साथ सातौं स्थानमा छ ।
सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउन एमबाप्पेले दुई तथा आर्दा गुलरले एक गोल गरे । सेल्टा भिगोका लागि जाभी रोड्रिग्वेज र विलियट स्वेडबर्गले गोल फर्काए ।
खेलको ३३औं मिनेटमा गुलरको गोलमार्फत रियालले अग्रता लिएको थियो । ६ मिनेटपछि नै एमबाप्पे टोलीको अग्रता दोब्बर बनाए ।
एमबाप्पेले ४८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियालको अग्रता ३-० मा पुग्यो । रोड्रिग्वेजले ६९ र स्वेडबर्गले ७९औं मिनेटमा गोल गर्दै सेल्टा भिगोलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।