काठमाडौं । मध्यपुर युथ एसोसिएसनमाथि १–० को संघर्षपूर्ण जित हासिल गर्दै वीरगंज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । हारसँगै मध्यपुरमाथि रेलिगेसनको खतरा बढेको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न नवौं चरणको खेलमा वीरगंजलाई जित दिलाउन अमित बच्चरले निर्णायक गोल गरे । अमितले पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा वीरगंजलाई अग्रता दिलाएका हुन् ।
यो जितसँगै ९ खेलमा वीरगंजले १५ अंक जोडेको छ । रेलिगेसन क्षेत्रभन्दा मात्र एक स्थान माथि रहेको मध्यपुरको समान खेलबाट ८ अंक छ । ७ अंकका साथ टुसाल युवा क्लब र ६ अंक जोडेको सरस्वती युवा क्लब रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका छन् ।
दिनको दोस्रो खेलमा शीर्ष स्थानको प्लानिङ ब्वाइज क्लब र सातौं स्थानको श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ः३० बजे हुनेछ ।