काठमाडौं । जोस इङ्लिसको शतकप्रेरित अस्ट्रेलियाले आइसिसी च्याम्पियन्स ट्रफीमा विजयी सुरुआत गरेको छ ।
समूह ‘बी’ को खेलमा शनिबार अस्ट्रेलियाले इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्यो । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो ।
छैठौं संस्करणको फाइनलमा न्युजिल्यान्ड पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको ६ खेलमा जित हात पार्न सकेको थिएन ।
पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा इङ्ल्यान्डले प्रस्तुत गरेको ३५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । अस्ट्रेलियाका लागि इङ्लिसले ८६ बलमा आठ चौका र ६ छक्काको मद्दतले अविजित १२० रनको योगदान गरे ।
यसैगरी एलेक्स केरीले ६३ बलमा आठ चौकाको मद्दतले ६९, म्याथ्यु शर्टले ६६ बलमा ९ चौका र एक छक्काको मद्दतले ६३, मार्नुस लाबुसेनले ४७ र ग्लेन म्याक्सवेलले अविजित ३२ रन बनाए ।
इङ्लिसले पाँचौं विकेटका लागि केरीसँग १४६ र छैटौं विकेटका लागि म्याक्सवेलसँग अविजित ७६ रनको साझेदारी गरे । यसैगरी तेस्रो विकेटका लागि शर्ट र लाबुसेनबीच ९५ रनको साझेदारी भयो ।
इङ्ग्ल्यान्डका लागि आदिल राशिद, मार्क उड, बायडेन कार्से, लियम लिभिङ्गस्टोन र जोफ्रा आर्चरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३५१ रनको योगफल तयार गरेको थियो।
इङ्ग्ल्यान्डका ओपनर बेन डकेटले १४३ बलमा १७ चौका र तीन छक्काको मद्दतले अविजित १६५ रनको योगदान गरे । यो च्याम्पियन्स ट्रफीको एक इनिङमा सर्वाधिक व्यक्तिगत रन हो ।
उनले सन् २००४मा न्युजिल्यान्डका नाथन एस्टलले बनाएको अविजित १४५ रनको कीर्तिमान तोडे । यसैगरी जो रुटले ७८ बलमा चार चौकाको मद्दतले ६८, कप्तान जोस बटलर २३, जोफ्रा आर्चरले अविजित २१, जेमी स्मिथले १५, लियम लिभिङ्गस्टानले १४ रन बनाए ।
डकेटले तेस्रो विकेटका लागि रुटसँग १५८ र पाँचौं विकेटका लागि बटलरसँग ६१ रनको साझेदारी गरे ।अस्ट्रेलियाका लागि बेन द्वारशुइसले तीन, मार्नुस लाबुसेन र एडम जाम्पाले समान दुई तथा ग्लेन म्याक्सवेलले एक विकेट लिए