काठमाडौं । धनगढीकी चेली मनीषा उपाध्यायले गत मंगलबार पहिलो पटक धेरै मिडियालाई फेस गरिन् । मनीषा नर्भस देखिन्थिन् । मनमा डर थियो, कतै बोल्नै नसकिने पो हो कि ? त्यसैले यही कारण पत्रकार सम्मेलनमा उनले राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व कप्तान रुविना क्षेत्रीलाई सँगै ल्याएकी थिइन् ।
नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला शृंखलामा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी मनीषाले त्यस दिन थाइल्यान्डविरुद्ध तीन विकेट लिएकी थिइन् । प्रतियोगिताका ६ खेलमा पाँच इनिङमा बलिङको मौका पाउँदा मनीषाले १७ ओभरमा एक मेडन राख्दै ९७ रन खर्चेर सात विकेट लिएकी थिइन । सातौं ओभरमा दुई खेलाडीलाई पवेलियनको बाटो देखाएकी मनीषाले त्यही ओभरमा एक खेलाडीलाई रन आउटको शिकार पनि बनाएकी थिइन् । १०७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले पाँच रनको दूर्भाग्यजनक हार बेहोर्दा लेफ्ट आर्म स्पिनर मनीषाले चार ओभरमा १८ रन खर्चिएकी थिइन् । शृंखलामा सबै खेल हारेर एउटै अंक जोड्न नसकेको नेपालका लागि त्यो लगातार चौथो हार थियो ।
मनीषाले गण्डकी प्रदेशबाट २०७६ सालमा सम्पन्न प्रधानमन्त्री कपको छैटौं संस्करण खेलेकी थिइन् । यही प्रतियोगितामार्फत नेपाली क्रिकेटको माथिल्लो स्तरमा मनीषाको करियर सुरु भएको थियो ।
खेल सकिएपछि पोस्ट म्याच कन्फरेन्समा मनीषालाई बोलाइयो । रुविना बोल्न अफ्ठ्यारो मानिरहेकी मनीषाको हौसला बढाउन सँगै प्रस्तुत भइन् । मनीषाले यसका लागि रुविनालाई आग्रह गरेकी थिइन् । रुविनाले मनीषालाई सम्झाइरहिन् । ‘केही छैन ! म छु’ भनेर हौस्याइरहिन् । मनीषा नर्भस थिइन् । सायद लगातार चौथो हारले उनलाई हिनताबोध महसुस गराइरहेको थियो ? उनको परिपक्व जवाफले त्यही भनिरहेको थियो ।
शृंखलाको पहिलो खेलमा २० वर्षीय मनीषाले अन्तर्राष्ट्रिय ट्वान्टी-२० ‘डेब्यु’को अवसर पाएकी थिइन् । त्यस खेलमा उनलाई ‘डेब्यु क्याप’ हस्तान्तरण गरे पनि कप्तान इन्दु वर्माले बलिङमा मनीषाको प्रयोग नै गरिनन् । त्यसपछिका खेलमा भने मनीषाले पर्याप्त अवसर पाइन् । जहाँ मनिषाले आफूलाई प्रमाणित गर्ने अवसरको पूरा उपयोग गरिन । त्यही सेरोफेरोमा उनलाई सोधियो, ‘डेब्यू खेलमा बलिङ र ब्याटिङ दुवै गर्न नपाउँदा तपाईँलाई उकुस मुकुस भएन ?’
मनीषाको जवाफ यस्तो थियो, ‘राष्ट्रिय टोलीमा खेल्न पाउनु नै सबैभन्दा ठूलो कुरा हो । मैले टोलीलाई केही योगदान दिन सक्थेँ । तर, मलाई त्यस्तो केही नराम्रो लागेन । कप्तानले टोलीको आवश्यकता अनुसार निर्णय गर्नुभयो । मैले नै बलिङ गर्नुपर्ने भन्ने कहाँ छ र ?’
मनीषाले २०२२ जुनमा मलेसियामा सम्पन्न ‘आइसिसी यू-१९ ट्वान्टी-२० विश्वकप २०२३ छनोट’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
मनीषासँगै नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा विकेटकिपर अलिशाकुमारी यादवले पनि ‘डेब्यू’को अवसर पाएकी थिइन् । शृंखलामा यी दुईसँगै अरु तीन स्पिनर रेवती धामी, रचना चौधरी र राजमती ऐरीले पनि पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाए ।
मनीषाले राष्ट्रिय टोलीकी अलराउन्डर कवीता कुंवरलाई देखेर क्रिकेट खेल्न सुरु गरेकी थिइन् । २१ वर्षीय कविता मनीषाको स्कुलकी साथी हुन् । ‘क्रिकेटमा मेरो प्रेरणा कविता नै हो । कवीताले क्रिकेट खेलेको देखेर मलाई पनि खेलौं खेलौं लाग्थ्यो,’ मनीषाले विगत सुनाइन ।
मनीषाले गण्डकी प्रदेशबाट २०७६ सालमा सम्पन्न प्रधानमन्त्री कपको छैटौं संस्करण खेलेकी थिइन् । यही प्रतियोगितामार्फत नेपाली क्रिकेटको माथिल्लो स्तरमा मनीषाको करियर सुरु भएको थियो । दुई वर्षपछि २०७८ को प्रधानमन्त्री कपमा पनि गण्डकी प्रदेशको प्रतिनिधित्व गरेकी मनीषाले त्यही वर्ष भएको मुख्यमन्त्री कप यु-१९ प्रतियोगितामा आफ्नै नेतृत्वमा गण्डकीलाई च्याम्पियन बनाएकी थिइन् । फाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई हराएको थियो । एक वर्षपछि गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा मनीषाले विभागीय टोली नेपाल पुलिस क्लबको जर्सी लगाइन् ।
पुलिसले त्यतिबेला पहिलो पटक रुविना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट टोली तयार पारेको थियो । मनीषा पनि विभागीय टोलीमा जोडिन पुगिन् । विभागीय ‘डर्बी’का रुपमा सम्पन्न रोमाञ्चक फाइनलमा पुलिसले सशस्त्र प्रहरी बलको एपिएफमाथि पाँच रनको जित हासिल गर्दै स्वर्ण पदक जितेको थियो । राष्ट्रिय खेलकुदयता पुलिसले अहिलेसम्म अर्को टोली तयार पारेको छैन । राष्ट्रिय खेलकुदपछि मनीषाको करियरले अर्कै मोड लियो । पुलिसको प्रतिनिधित्व गरेपछि गण्डकीले मनीषासँग आगामी यात्रामा सहकार्य नगर्ने निर्णय गर्यो । मनीषाले त्यसयता बागमती प्रदेशको प्रतिनिधित्व गर्दै आएकी छन् ।
मनीषाले २०२२ जुनमा मलेसियामा सम्पन्न ‘आइसिसी यू-१९ ट्वान्टी-२० विश्वकप २०२३ छनोट’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । तीन खेलमा मौका पाउँदा मनीषाले १२ ओभरमा २६ रन मात्र खर्चिएर पाँच विकेट लिइन् । यही प्रदर्शनको प्रभावका कारण उनी लगत्तै मलेसियामा हुन लागेको एसिसी ट्वान्टी-२० च्याम्पियनसिपको अन्तिम टोलीमा अटाएकी थिइन् । मनीषाले त्यतिबेला हिरण्मयी रोईलाई प्रतिस्थापन गरेकी थिइन् । हिरण्मयी रोई प्राविधिक कारणले मलेसिया जान नपाउने भएपछि मनीषाले त्यो मौका पाएकी थिइन् । तर, मनीषाले मलेसियामा कुनै पनि खेल खेलिनन् । अन्तिम टोलीमा बोलाइनुअघि मनीषाले एपेन्डिक्सको शल्यक्रिया गर्नुपरेको थियो । जसले गर्दा अन्तर्राष्ट्रिय ‘डेब्यु’का लागि उनले थप समय कुर्नुपर्ने भयो ।
‘एकदमै खुसी छु । मलाई प्रशिक्षक र कप्तानले विश्वास गर्नुभयो । सिता (रानामगर), रुविना (क्षेत्री) र इन्दु (वर्मा) दिदीबाट धेरै कुरा सिकिरहेको छु । छुट्टै महसुस गरिरहेको छु,’ मुस्कुराउँदै मनीषा सुनाउँछिन्, ‘सबैको साथ पाउँदा विकेट पनि लिन सफल भएँ । दिदीहरुबाट अझै धेरै कुरा सिक्न बाँकी छ ।’
मनीषा दुई वर्षयता ललितपुरस्थित हात्तिवनमा रहेको ‘ग्रेट हिमालयन क्रिकेट एकेडेमी’मा प्रशिक्षण गर्दै आएकी छन् । गत वर्षको नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न यू-१९ ट्वान्टी-२० विश्वकप २०२५ को छनोटमा मनीषासम्मिलित नेपाली टोलीले सफलता प्राप्त गर्यो । एसिया छनोटको शीर्ष स्थानमा रहेर नेपालले विश्वकपमा स्थान बनाएको थियो । जहाँ मनीषाले दुई विकेट लिएकी थिइन् ।
तीन साताअघि मलेसियामा भएको विश्वकपमा भने उनी अन्तिम टोलीमा अटाइनन् । यही समयमा धनगढीको फाप्ला क्रिकेट मैदानमा प्रधानमन्त्री कपको १०औं संस्करण सम्पन्न भएको थियो । जहाँ मनीषाले पाँच इनिङमामा प्रतियोगिताकै सर्वाधिक १० विकेट लिँदै बागमतीलाई सुपर फोरसम्म पुर्याइन् । उत्कृष्ट बलरको अवार्ड पनि जितिन् । जुन प्रदर्शनले मनीषालाई राष्ट्रिय टोलीमा फेरि फर्कायो । यसपालि भने उनले राष्ट्रिय टोलीको जर्सी लगाएर देशका लागि खेल्ने मौका पनि पाइन् ।
‘एकदमै खुसी छु । मलाई प्रशिक्षक र कप्तानले विश्वास गर्नुभयो । सिता (रानामगर), रुविना (क्षेत्री) र इन्दु (वर्मा) दिदीबाट धेरै कुरा सिकिरहेको छु । छुट्टै महसुस गरिरहेको छु,’ मुस्कुराउँदै मनीषा सुनाउँछिन्, ‘सबैको साथ पाउँदा विकेट पनि लिन सफल भएँ । दिदीहरुबाट अझै धेरै कुरा सिक्न बाँकी छ ।’
मिडियासामू मनीषालाई सुरुमा खुल्न गाह्रो भइरहेको थियो । विस्तारै उनले यसलाई सहज रुपमा लिन थालिन् । सञ्चारकर्मीले पनि मनीषालाई बोल्न प्रेरित गरिरहेका थिए । यसबीच मनीषालाई सोधियो, ‘यसरी विकेट लिनुको राज के हो ?’ नर्भस देखिएकी मनीषा गलल्ल हाँसिन् । अनि थाहा भयो, यो त कडा परिश्रमको प्रतिफल पो रहेछ ।
मनीषा भन्छिन्, ‘मैले आफ्नै तरिकाले बल फ्याँकिरहेको छु । टियु मैदामा लेफ्ट आर्म स्पिनरलाई सजिलो त हुन्छ । तर, यो सबै मेरो मिहिनेतका कारण सम्भव भएको हो । मैले अभ्यासका दौरान जसरी बल फ्याकिरहेको हुन्छु । त्यही कुरालाई मैदानमा देखाउने प्रयास गर्छु । विकेट पनि त्यही अनुरुप आइरहेको छ ।’
अन्तर्राष्ट्रिय अनुभवको सुरुआती दिनमा यसरी लगातार हार बेहोरिरहँदा चाहिँ मनीषालाई कस्तो महसुस हुन्छ त ? मनीषा आत्मग्लानी महसुस गर्छिन् । तर, हाँसेर प्रतिक्रिया दिनुबाहेक उनीसँग तत्कालका लागि विकल्प पनि त छैन । उनी फेरि हास्छिन्, अनि मिठास भरिएको सुदूरपश्चिमे शैलीमा छोटो जवाफ दिन्छिन्, ‘नराम्रो लागिरहेको छ ।’
वस ! यति ?
हो ! मनीषाले दिन सक्ने उत्तर भनेको अहिलेका लागि यति नै हो । तत्कालका लागि मनीषाको यो प्रतिक्रिया पर्याप्त भन्दा बढी छ । उनी सिक्दै छिन् । विस्तारै आत्मविश्वास बढ्दै जानेछ । मैदानभित्र र बाहिरका अवसरलाई सदुपयोग गर्दै जानेछिन् । अहिलेलाई भने उनीबाट निडर बोलीभन्दा पनि निडर प्रदर्शनको अपेक्षा रहनेछ ।
छेउमै बसेकी रुविना नेपाली क्रिकेटले नयाँ प्रतीभा पाएकोमा खुसी छिन् । भन्छिन्, ‘मनीषा जस्तो प्रतिभाशाली लेफ्ट आर्म स्पिनर पाउनु भनेको नेपाली टोलीलाई एकदमै फाइदाजनक हो । पाएका अवसरलाई राम्ररी सदुपयोग गरिरहेकी छन् । यही लयलाई कायम राख्ने हो भने उनीबाट हामीले अझ बढी विकेटको अपेक्षा राख्न सक्छौं, पावरप्लेमा पनि र पावरप्ले पछि पनि । मनीषाको भविष्य म एकदमै उज्जवल देख्छु ।’