काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा आज (बिहीबार) बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल संयुक्त अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय रंगशालामा दिउसो नेपाली समयानुसार ३ः४५ बजे सुरु हुनेछ ।
समूह ‘ए’ को पहिलो खेलमा वर्षाको सम्भावना गरिएको छ । दुबई मौषम विभाग अनुसार आज ५० प्रतिशत वर्षा हुने सम्भावना छ ।
हालसम्म च्याम्पियन्स ट्रफीमा भारत र अस्ट्रेलियाले समान २ पटक उपाधि जितेका छन् । त्यसैले पनि दोस्रो खेलमा बंगलादेशलाई भारत भारी पर्नेछ ।
दुई टोलीबीच हालसम्म यो प्रतियोगितामा एक पटक भेट भएको छ । सन् २०१७ मा भएको खेलमा सेमिफाइनलमा भारतले ९ विकेटको जित निकालेको थियो । यही खेलमा कप्तान रोहित शर्माले १२३ रन बनाएका थिए ।
समग्रमा भारत र बंगलादेशबीच ४१ पटक भेट भएको छ । जसमा भारतले ३२ र बंगलादेशले ८ पटक जितेका छन् । एक खेल अनिर्णित बन्यो । दुई टिम एकदिवसीय प्रतियोगितामा सन् २०२३ मा खेलेका थिए । जहाँ भारत ७ विकेटले विजयी भएको हो ।
भारत रोहितकै कप्तानीमा मैदान उत्रनेछ । टिममा शुभमन गिल, विराट कोहली, श्रेयर अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद सामी, हर्षित राणा र अर्शदीप सिंह छन् ।
नजमुल हुसेन शान्तोको कप्तानीमा उत्रने बंगलादेशको टिममा सौम्या सरकार, तन्जिद हसन, तौहिद हृदोय, मुस्फिकुर रहिम, महमुदुल्लाह, मेहदी हसन मिराज, तन्जिम हसन सकिब, रिसाद हुसैन, तस्किन अहमद र मुन्तफिजुर रहमान छन् ।