काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली ललितपुर सिटी एफसीले आफ्नो मार्की खेलाडीमा रक्षक अनन्त तामाङलाई नै निरन्तरता दिने भएको छ ।
ललिपुरले सामाजिक सञ्जामार्फत एनएएसलको तेस्रो संस्करणका लागि पनि अनन्तलाई नै मार्की खेलाडी बनाइएको जानकारी दियो । गत संस्करण पनि अनन्त मार्की तथा कप्तान थिए ।
अनन्तको कप्तानीमा ललितपुर गत संस्करण च्याम्पियन बनेको थियो । उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिएका थिए ।
यसैगरी टोलीले तेस्रो संस्करणका लागि रक्षक सनिस श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरिसकेको छ । ललितपुरले इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । यसपल्ट ललितपुरसहित, झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।