काठमाडौं । ओपनर विल योङ र विकेटकिपर टम लाथमको सतकप्रेरित न्युुजिल्यान्डले च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानलाई ६० रनले हराएको छ ।
बुधबार कराँचीमा भएको खेलमा दुई खेलाडीले सतक बनाएपछि न्युजिल्यान्डले पाँच विकेट गुमाउँदै ३२१ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा ४७.२ ओभरमा अलआउट हुँदा मात्र २६० रन बनाउन सक्यो ।
पाकिस्तानको लागि बाबर आजम र खुस्दिल शाहले मात्रै अर्धसतक बनाएका थिए । शाहले ४९ बलमा १० चौका र १ चक्कासहित ६९ रन बनाएका हुन् । बाबरले ९० बलमा ६ चौका र १ छक्कासहित ६४ रन जोडे । सल्मान अघाले ४२ रनको योगदान गरेका हुन् ।
न्युजिल्यान्डको लागि विल रोउक र मिचल साट्नरले समान तीन विकेट हात पारे । म्याट हेनरीले २ विकेट लिएका हुन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डको लागि योङले ११३ बलमा १२ चौका र १ छक्कासहित १०७ रन बनाए । पाँचौ नम्बर क्रिजमा पुगेका लाथमले १०४ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक अविजित ११८ रन बनाएका हुन् । ग्लेन फिलिप्सले ६१ रनको योगदान गरे ।
४० रन बनाउँदा केन विलियम्सलाई दोस्रो विकेटको रुपमा गुमाएपछि न्युजिल्यान्ड दबाबमा आएको थियो । तर, चौथो विकेटको लागि लाथम र योङले ११८ रनको साझेदारी गरेपछि न्युजिल्यान्ड लयमा आएको हो । योङ आउट भएपछि लाथम र फिलिप्सबीच ७४ बलमा सर्वाधिक १२५ रनको बलियो साझेदारी भयो ।
च्याम्पियन्स लिगको दोस्रो खेलमा आज (बिहीबार) बंगलादेश र भारत दुबईमा प्रतिस्पर्धा गर्दैछन् ।