काठमाडौं । भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन (बिएमसिए) प्रधानमन्त्री कप पुरुष क्रिकेट भक्तपुर जिल्ला छनोटको च्याम्पियन बनेको छ ।
शनिबार मुलपानी मैदानमा सम्पन्न फाइनलमा बिएमसिएले भक्तपुर क्रिकेट सेन्टरलाई (बिसिसी) लाई सात विकेटले पराजित गर्यो।
बिसिसीले प्रस्तुत गरेको ११६ रनको लक्ष्य बिएमसीएले २०.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । बिएमसिएका लागि गौरभ पौडेलले ४९, विशाल देवकोटाले अविजित २६ र शौरभ साखाकर्मीले १७ रन बनाए ।
चौंथो विकेटका लागि गौरभ र विशालले अविजित ७८ रनको साझेदारी गरेका थिए । बिसिसीका लागि लोकेश पालले दुई तथा त्रिशन चौलागाईले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बिसिसीले ३५. २ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पर्यो । बिसिसीका लागि दिपेन श्रेष्ठले ३४, अभिषेक बस्नेतले १८ र समर्पण अधिकारीले १७ रन बनाए ।
बिएमसिएका लागि सागर घिमिरेले तीन, सक्रियप्रताप कार्कीले दुई तथा धिरेन्द्र कुमार बस्नेत, मनीष श्रेष्ठ, शशांक दवाडी र सार्थक न्यौपानेले समान एक विकेट लिए।
बिसिसीका विनोद तामाङ प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । यस्तै हिमालय स्पोर्टस म्यानेजमेन्टका सुमन गुमागाईँ उत्कृष्ट बलर र जनप्रेमी स्टोर्टस क्लबका आकाशकुमार शाह उत्कृष्ट ब्याटर चुनिए
विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का तथा भक्तपुर क्रिकेट संघका अध्यक्ष डा. मनिषराज पाण्डे लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।