काठमाडौं । केपी टोली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको समूर्ण तयारी पूरा भएको छ ।
आयोजक राष्ट्रिय युवा संघले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयरी पूरा भएको जानकारी दियो । प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ देखि १९ गतेसम्म हुनेछ ।
प्रतियोगिताको फाइनल हेर्न विश्वकप विजेता इटालियन गोलकिपर जियानलुइजी बुफोन आउने आयोजकले जानकरी दियाे ।
प्रतियोगितामा पछिल्लो दुई संस्करणको च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम (एनआरटी), संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको क्वार्टरफाइनल सम्मका खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदान तथा सेमिफाइल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।
तेस्रो संस्करणमा पुरस्कार रकम बृद्धि भएको छ । यस पटक विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।
गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीलाई समान ५० हजार र ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिने छ ।
त्यस्तै हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउने छ । प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ र ब्ल्याक बुल्स प्रतिस्पर्धा गर्नेछन् ।