काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत म्यानमारविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती रोजाई सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोलीमा तीन परिवर्तन गरेका छन् । बिहीबार लेबनानविरुद्धको दोस्रो खेलमा बेन्चमा रहेका मिडफिल्डर सरु लिम्बू, गोलकिपर अञ्जना रानामगर र फवार्ड रश्मीकुमारी घिसिङ सुरुआती ११ मा परेका छन् । टोलीको नेतृत्व रेनुका नगरकोटेले गर्नेछिन् ।
अञ्जनाले गोलकिपर तथा नियमित कप्तान अन्जिला तुम्बाप्पो सुब्बालाई प्रतिस्थापन गर्दा सरुले अट्याकिङ मिडफिल्डर विमला चौधरी र रश्मीकुमारीले फवार्ड रेखा पौडेलको स्थान लिएका हुन् ।
रक्षापङ्क्तिमा पूजा राना, गीता राना, समीक्षा घिमिरे र विमला विक रहनेछन् । त्यस्तै मिडफिल्डमा सरुसँगै प्रीति राई, रेनुका नगरकोटे र सवीता रानामगर छन् । आक्रमणमा रश्मीले सावित्रा भण्डारीलाई साथ दिनेछन् ।
चारदेशसम्मिलित प्रतियोगितामा नेपाल र म्यानमार दुबैले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । नेपालले यसअघि किर्गिस्तान र लेबनानमाथि १-० को झिनो जित हासिल गरेको थियो भने म्यानमारले किर्गिस्तानलाई ५-० र लेबनानलाई ३-१ ले पराजित गरेको थियो ।
खेल साँझ ६ बजे सुरु हुनेछ ।