काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारबीचको पहिलो हाफ २-२ को बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा मयत खिनको गोलमार्फत म्यानमारले अग्रता लिएको थियो । उनले सेकन्ड बार च्यापेर प्रहार गरेको फ्रिकिकलाई नेपाल गोलकिपर अन्जना रानमगरले बचाउने कुनै अवसर नै पाइनन् ।
म्यानमारको त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । पाँच मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । सावित्रा भण्डारीको क्रसलाई सविता रानमगरले वान टचमै पोस्टको दिशा दिइन् ।
मे एचटेट लुले १७औं मिनेटमा म्यानमारलाई २-१ को अग्रता दिलाइन् । उनले नेपाली रक्षक गीता रानाले क्लियर गर्न खोजेको बललाई नियन्त्रणमा लिँदै लुले उत्कृष्ट गोल गरिन् ।
सावित्रा भण्डारीले ४०औं मिनेटमा गोल गर्दा नेपाल २-२ को बराबरीमा आयो । उनले प्रीति राईको पासलाई सदुपयोग गरिन् ।