काठमाडौं । विराट कोहलीको शतकप्रेरित भारतले आइसिसी च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल निकालेको छ ।
आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले साबिक विजेता पाकिस्तानलाई ६ विकेटले पराजित गर्यो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भइरहेको छ ।
लगातार दोस्रो जितसँगै दुई खेलमा चार अंक जोड्दै समूह ‘ए’ शीर्षस्थानमा रहेको भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । लगातार दोस्रो हार बेहोरेका पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।
पहिलो खेलमा भारतले बंगलादेशलाई पराजित गर्दा पाकिस्तानले न्युजिल्यान्डसँग हार बेहोरेको थियो ।
पाकिस्तानले प्रस्तुत गरेको २४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । भारतका लागि विराटले १११ बलमा सात चौकाको मद्दतले अविजित १०० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा विराटको यो ५१औं शतक हो ।
यसैगरी श्रेयस अय्यरले ६७ बलमा पाँच चौका र एक छक्काको मद्दतले ५६, शुभमन गिलले ४६ र कप्तान रोहित शर्माले २० रन जोडे ।
विराटले तेस्रो विकेटका लागि श्रेयससँग ११४ र दोस्रो विकेटका लागि शुभमनसँग ६९ रनको साझेदारी गरे ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले दुई तथा अबरार अहमद र खुसदिल शाहले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २४१ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि सउद सकिलले ७६ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी कप्तान मोहम्मद रिजवानले ४६, खुसदिल शाहले ३८, बाबर अजामले २३, सलमान अघाले १९, नसिम शाहले १४ र इमाम उल हकले १० रन बनाए ।
तेस्रो विकेटका लागि सकिल र रिजवानले १०४ रनको साझेदारी गरे । भारतका लागि कुलदीप यादवले तीन, हार्दिक पाण्डेयाले दुई तथा हर्षीत राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान एक विकेट लिए ।