ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला

दोस्रो ट्वान्टी २० मा अस्ट्रेलिया विजयी

काठमाडौं । घरेलु टोली भारतविरुद्ध महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको छ । अस्ट्रेलियाको यो जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ ।

मुम्बाईस्थित डिवाइ पाटिल स्पोर्टस एकेडेमीको मैदानमा आइतबार भारतले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । अस्ट्रेलियाका लागि एलिस पेरीले अविजित ३४, कप्तान एलिसा हेलीले २६, बेथ मोनीले २०, ताहलिया म्याकग्राथले १९ र फोबी लिचफिल्डले अविजित १८ रन बनाए ।

भारतविरुद्ध ब्याटिङ गर्दै फोबी लिचफिल्ड

पहिलो विकेटका लागि हेली र मोनीले ५१ रनको साझेदारी गरे । भारतका लागि दिप्ति शर्माले दुई तथा पूजा वस्त्राकर र श्रीयन्का पाटिलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३० रनको योगफल तयार पारेको थियो । भारतका लागि दिप्ति शर्माले ३०, स्मृति मन्धना र ऋचा घोषले समान २३ तथा जेमिमाह रोड्रिगेजले १३ रन बनाए ।

अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै दिप्ति शर्मा

अस्ट्रेलियाका लागि किम्बर्ली गर्थ, एनाबेल सदरल्यान्ड र जर्जिया वारेहमले समान दुई तथा एश्ले गार्डनरले एक विकेट लिए ।

पहिलो खेलमा भारत ९ विकेटले विजयी भएको थियो । शृंखलाको तेस्रो तथा निर्णायक खेल मंगलबार हुनेछ ।