टेस्ट शृंखला

दोस्रो टेस्टमा भारत विजयी, बराबरीमा सकियो शृंखला

काठमाडौं ।  भारतले टेस्ट शृंखलाको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ । केप टाउनमा भएको टेस्ट दोस्रो दिनमै सकिएको हो । 

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ७९ रनको सामान्य लक्ष्य भारतले १२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि यशस्वी जैसबालले २८, कप्तान रोहित शर्माले अविजित १६, विराट कोहलीले १२ र शुभमन गिलले १० रन बनाए । 

दक्षिण अफ्रिकाका लागि मार्को यानसन, नान्द्रे बर्गर र कागिसो रबाडाले समान एक विकेट लिए । 

दोस्रो इनिङमा दक्षिण अफ्रिका १ सय ७६ रनमै समेटिएपछि भारतले ७९ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो । दक्षिण अफ्रिकाका ओपनर एडेन मार्करमले १ सय ३ बलमा १७ चौका र दुई छक्काको मद्दतले सर्वाधिक १ सय ६ रनको योगदान गरे । 

भारतविरुद्ध ब्याटिङ गर्दै एडेन मार्करम

यसैगरी डिन एल्गरले १२ तथा मार्को यानसन र डेविड बेडिंघमले समान ११ रन बनाउँदा अन्यब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

भारतका लागि जसप्रित बुमराहले १३.५ ओभरमा ६१ रन खर्चिदै ६ विकेट लिए । यसैगरी मुकेश कुमारले दुई तथा मोहम्मद शिराज र प्रसिद्ध कृष्णाले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका पहिलो इनिङमा ५५ रनमै समेटिएको थियो । भारत पनि १ सय ५३ रनमा समेटियो । 

योसँगै दुई खेलको शृंखला १-१ को बराबरीमा सकिएको छ । पहिलो टेस्टमा दक्षिण अफ्रिका एक इनिङ र ३२ रनले विजयी भएको थियो ।