आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोट

विश्वकप छनोटः सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा सोमबार कतारविरुद्धको खेलमा नेपाल  लगातार चौथो जितसहित सेमिफाइनलमा स्थान पक्का गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । 

समूह ‘ए’अन्तर्गतको खेल मलेसियाको युकेएम वाइएसडी ओभल रंगशालामा विहान ७ः१५ बजे सुरु हुनेछ । नेपालले यसअघि घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले हराएको थियो ।

सेमिफाइनल सम्भावना समाप्त भइसके पनि कतार नेपाललाई स्तब्ध बनाउँदै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ । यसअघि कतारले बहराइनसँग पाँच विकेट, भुटानसँग आठ विकेट र युएईसँग ५१ रनको पराजय ब्यहोरेको थियो ।  

यी दुईबीच भएको पछिल्लो भेटमा नेपालले १ सय ९ रनको फराकिलो जित निकालेको थियो ।