काठमाडौं । विश्व नम्बर तीन कर्लोस अल्कारेजविरुद्ध पुनारागमन जित निकाल्दै सर्बियन स्टार नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।
मेलबर्नस्थित रोड लेभर एरिनाका सातौं वरीयताका जोकोभिचले स्पेनिस स्टार अल्कारेजविरुद्ध ३-१ सेटको जित निकाले । पहिलो सेट ४-६ ले गुमाएका जोकोभिचले त्यसपछिका तीन सेट ६-४, ६-३, ६-४ ले आफ्नो पक्षमा पारे ।
जोकोभिचले फाइलन प्रवेशका लागि दोस्रो वरीयताका जर्मन खेलाडी एलेक्सजेन्डर जेभरेभको सामना गर्नेछन् । जेभरेभले अमेरिकाका टोमी पउललाई, ७-६ (७-१), ७-६ (७-०), २-६, ६-१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरे ।
यसैगरी महिला एकलतर्फ साबिक विजेता आयर्ना साबालेन्काले सेमिफाइनलको यात्रा तय गरेकी छन् । उनले रुसी खेलाडी अनास्तासिया पाव्ल्युचेन्कोभालाई ६-२, २-६, ६-३ ले परािजत गरिन् ।