काठमाडौं । नेपालले पहिलो पटक आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको छ ।
आइतबार एसिया छनोट अन्तर्गत सुपर-३ को आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध पाँच विकेटको जित दर्ता गर्यो । यो हारसँगै युएई भने बाहिरिएको छ ।
थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३०, रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाए ।
युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले सामना एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रनको योगफल तयार पारेको थियो ।
युएईका लागि इशा ओजाले ३९, तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए ।
नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमति ऐरीले एक विकेट लिए ।
अब नेपालले सुपर-३ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डको सामना गर्नेछ ।