काठमाडौं । राजस्थान रोयल्सविरुद्ध १० रनको रोमाञ्चक जित निकाल्दै पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।
जितसँगै १२ खेलमा १७ अंक जोडेको पञ्जाव दोस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान १३ खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।
जयपुरस्थित सवाई मानसिंह रंगशालामा आइतबार पञ्जावले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २०९ रन बनायो ।
राजस्थानका लागि ध्रुव जुरेलले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी यशस्वी जैसवालले २५ बलमा ९ चौका र एक छक्काको मद्दतले ५०, वैभव सूर्यवंशीले ४०, कप्तान सन्जु सामसनले २० र सिम्रन हेटमायरले ११ रन बनाए ।
पहिलो विकेटका लागि यशस्वी र वैभवले ७६ रनको साझेदारी गरेका थिए । पञ्जावका लागि हरप्रित ब्रारले तीन तथा मार्को यानसन र अज्मतुल्लाह ओमरजाईले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१९ रनको योगफल तयार पारेको थियो ।
पञ्जावका लागि नेहाल बधेराले ३७ बलमा समान पाँच चौका र छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी शशांक सिंहले ३० बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५९, कप्तान श्रेयस अय्यरले ३०, अज्मतुल्लाह ओमरजाईले अविजित २१ र प्रभसिम्रन सिंहले २१ रन बनाए ।
नेहालले चौथो विकेटका लागि श्रेयससँग ६७ र पाँचौं विकेटका लागि शशांकसँग ५८ रनको साझेदारी गरेका थिए । यसैगरी छैटौं विकेटका लागि शशांक र अज्मतुल्लाहबीच अविजित ६० रनको सानझेदारी र्भएको थियो ।
राजस्थानका लागि तुषार देशपाण्डेले दुई तथा क्वेना माफाका, रियान पराग र आकाश माधवालले समान एक विकेट लिए ।