काठमाडौं । झापा फुटबल क्लबविरुद्ध २(० को पराजय बेहोरेसँगै बौद्धस्थित श्री टुसाल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट रेलिगेसन नजिक पुगेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न १२औं चरणको खेलमा प्रदीप बुढाथोकीको दुई गोलमा झापाले रेलिगेसनबाट संघर्षरत टुसालमाथि विजयी हासिल गरेको हो । पुछारबाट दोस्रो स्थानका रहेको टुसालको यो हारसँगै ६ टोलीले दोस्रो डिभिजनको हैसियत जोगाएका छन् ।
यो नतिजासँगै टुसालले १२ खेलबाट मात्र ११ अंक जोडेको छ । एक खेल बाँकी रहेको अवस्थामा कम्तिमा १५ अंक जोडेका ६ टोली क्रमशः झापा, वीरगंज युनाइटेड, च्यासल युवा क्लब, मध्यपुर युथ एसोसिएसन, बाँसबारी क्लब र सरस्वती युवा क्लब ‘बी’ डिभिजनमै रहने निश्चित भएको हो । शीर्ष तीन भित्र रहेका प्लानिङ ब्वाइज युनाइटेड, श्री भगवती क्लब र ब्वाइज युनियन क्लबले यसअघि नै दोस्रो डिभिजनको हैसियत जोगाएका थिए । प्लानिङ ब्वाइज च्याम्पियन भइसकेको छ भने अन्य दुई क्लब दोस्रो स्थानको चुनौती पेश गरिरहेका छन् ।

आइतबारको जितसँगै झापा १८ अंक जोड्दै हालका लागि तालिकाको चौंथो स्थानमा उक्लियो ।
प्रदीपले खेलको ५९औं मिनेटमा झापालाई अग्रता दिलाएका थिए । विपक्षी रक्षापङ्क्तिको अनियन्त्रित तालमेलको फाइदा उठाउँदै प्रदीपले गोल गरेका थिए । इन्जुरी समयमा प्रदीपको लोअर प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
दिनको अर्को खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको थियो । जहाँ मध्यपुरले बाँसबारीलाई १-० ले निराश पार्यो । मध्यपुरको जितमा साहील केसीले ६५औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै मध्यपुर हालका लागि सातौं स्थानमा उक्लिएको छ ।
आइतबारका दुई खेलसँगै अब रेलिगेसन समीकरणमा चार टोली छन् । रानीपोखरी कर्नर टिम (आरसिटी), श्री कुमारी क्लब र ब्रिगेड ब्वाइज क्लब अन्य तीन टोली हुन् ।
लिगमा सोमबार दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने खेलमा सरस्वती र श्री कुमारी भिड्ने छन् भने एन्फा मुख्यालय मैदानमा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् । दुवै खेल दिउँसो ३ः३० बजे हुनेछ । यदि यी खेल श्री कुमारी र बिग्रेड ब्वाइजको पक्षमा गए टुसाल तेस्रो डिभिजनमा घटुवा हुनेछ ।