काठमाडौं । दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बधाइ दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मिहिनेत गरेर आगामी प्रतिस्पार्धामा पनि विजेता बन्ने शुभकामना दिए ।
अखिल नेपाल टेबल टेनिस संघद्वारा गत २४ देखि २७ अप्रिलसम्म काठमाडौंमा आयोजित प्रतियोगितामा नेपालले एक स्वर्ण, ६ रजत र पाँच कांस्य गरि १२ पदक जितेको थियो ।
प्रतियोगिताको यु-१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक प्राप्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले उनीहरूसँग केहीबेर टेबलटेनिस पनि खेलेका थिए ।
साेही अवसरमा प्रधानमन्त्री ओलीले आफ्नोतर्फबाट खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरे ।
संघका उपाध्यक्ष पूर्णशंकर श्रेष्ठले यसरी प्रधानमन्त्रीबाट टेबल टेनिस खेलाडीले पहिलो पटक पुरस्कार प्राप्त गरेकाले भविष्यमा अझ राम्रो नतिजा निकाल्द हौसला मिलेका बताए ।
संघका सचिव राजेन्द्रबहादुर दुलालले अन्तर्राष्ट्रिस्तरमा टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफैँ शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकारबाट सहयोग हुनुपर्ने माग राखे ।