काठमाडौं । बेलायती टेनिस स्टार इम्मा राडुकानुले वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनमा विजयी सुरुआत गरेकी छन् ।
राडुकानुले सोमबार सम्पन्न पहिलो चरण अन्तर्गतको खेलमा जर्मनीकी तमारा क्रोपाटस्कचलाई २–० को सोझो सेटमा पराजित गरेकी हुन् ।
राडुकानुले खेल ६–३ र ६–२ ले आफ्नो पक्षमा पार्दै दोस्रो चरणको यात्रा तय गरिन् ।
चोट मुक्त हुँदै कोर्ट फर्किएकी राडुकानुले जितका साथ आफ्नो पुनरागमनलाई सखुद बनाइन् ।
अस्ट्रेलियन ओपन सुरु हुनुभन्द १० दिन अगाडी अकल्यान्ड क्लासिकको खेलका क्रममा घाइते भएकी थिइन् । राडुकानुको घुँडामा चोट लागेको थियो ।
अकल्याण्डमा बिहिबार भएको राउण्ड १६ अन्तर्गतको खेलमा राडुकानुले स्लोभाकीयाका भिक्टोरीया कुजमोभालाई पहिलो सेटमा ६–० ले हराए पनि दोस्रो सेट ५–७ ले गुमाएकी थिइन्
तेस्रो सेटका क्रममा चोट लागेपछि राडुकानुले भावुक हुँदै कोर्ट छाडेकी थिइन् ।
राडुकानुले दोस्रो चरणमा अमेरिकी खेलाडी कोको गौफको सामना गर्नेछिन् । गौफले चेक रिपब्लिककी क्याट्रिना सिनियाकोभालाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी थिइन् ।