काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा-१० ले ग्रसरुटबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर समर फुटबल क्याम्प सुरु गरेको छ ।
नर्थ स्टार फुटबल एकेडेमीको प्राविधिक सहयोगमा कपनस्थित ह्यान्डबल बहुउद्देश्यीय रंगशालामा बुधबारदेखि सुरु भएको क्याम्प ११ दिन सञ्चाल हुनेछ ।
उक्त क्याम्पको बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र वडा-१० का अध्यक्ष नवराज भट्टराईले संयुक्तरुपमा उद्घाटन गरेका थिए । सो अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक दीपक दुलाललगायत उपस्थिति थिए ।
नर्थ स्टार फुटबल एकेडेमी राष्ट्रिय टोलीका पूर्वगोलकिपर विशालले नै सञ्चालनमा ल्याएका हुन् । उनी पनि यसै वडाका बासिन्दा हुन् ।
वडाबाट थप प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले ७ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै क्याम्प सुरु गरिएको वडा-१० का अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । क्याम्पमा ६० जना बालबालिका सहभागी छन् ।
क्याम्प हरेक दिन बिहान ६ः३० देखि ८ः३० बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय टोलीका पूर्वसदस्य विशालको प्रशिक्षण टोलीमा महेश श्रेष्ठ, कपिल ढकाल, सन्दीप खड्का, मनीष पौडेल र जयप्रकाश बोमजन छन् ।
प्रशिक्षणका क्रममा फुटबलको आधारभूत अभ्यास, बल नियन्त्रण तथा कौशलको विकास, टिम भावना र नेतृत्व विकासका साथै खेलकुदमार्फत अनुशासन र प्रोत्साहनजस्ता पक्षमा बालबालिकालाई प्रशिक्षण गराउने मुख्य प्रशिक्षक विशाल श्रेष्ठले बताए ।
उद्घाटनको अवसरमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरभित्र खेलकुद विकासलाई नयाँ उचाइमा पुर्याउन विभिन्न खेललाई प्रोत्साहन गरिँदै आएको बताएका छन् ।
यसैगरी अधिकारीले ह्यान्डबल बहुउद्देश्यीय स्पोर्टस सेन्टरको दोस्रो चरणमा स्तरोन्नतीको काम छिट्टै अगाडि बढ्ने उल्लेख गरे । सोही अवसरमा वडा-१० का अध्यक्ष नवराज भट्टराईले स्थानीय स्तरमै बालबालिकालाई खेलकुदप्रति प्रेरित गर्दै उनीहरूको प्रतिभा, अनुशासन, आत्मविश्वास र सामाजिक समावेशिताको भावना विकास गर्नु क्याम्पको मुख्य उद्देश्य रहेको बताए । यस किसिमको कार्यक्रमले भविष्यका खेल प्रतिभाहरू उत्पादन गर्ने उनको विश्वास छ ।
अध्यक्ष भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो अनुभव र व्यावसायिक रूपमा सफल खेलाडीको प्रशिक्षणबाट राम्रो जुनियर खेलाडी उत्पादन हुने विश्वास लिएको बताए ।