काठमाडौं । अर्जेन्टिनाको रिभर प्लेटले जापानको उरावा रेड डाइमन्ड्सलाई ३-१ ले हराउँदै फिफा क्लब विश्वकपमा सुखद सुरुआत गरेको छ।
जितसँगै समूह ‘इ’ को रिभर प्लेटले तीन अंक जोडेको छ ।
अमेरिकाको लुमेन फिल्डमा बुधबार रिभर प्लेटलाई जित दिलाउन फकुन्डो कोलिडियो, सेबास्टियन ड्रिउसी र म्याक्सिमिलियानो मेजाले गोल गरे । उरावा रेडका लागि युसुके मात्सुओले गोल फर्काए ।
खेलको १३औं मिनेटमा कोलिडियोको गोलमार्फत रिभर प्लेटले अग्रता लिएको थियो । उनले मार्कोस आकुनाको क्रसलाई हेडमार्फत जाली चुमाए ।
ड्रिउसीले ४८औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उरावा रेडका रक्षक मारिउस होइब्राटेनले गोलकिपरलाई शुसाकु निशिकावालाई हेडमार्फत ब्यकपास दिएको बललाई नियन्त्रणमा लिँदै ड्रिउसीले गोल गरे ।
मात्सुओले ५८औं मिनेटमा गोल गोल गर्दै उरावा रेडलाई खेलमा फर्काउने प्रयास गरेका थिए । रिभल प्लेटका रक्षक माकोर्स आकुनाले ताकुरो कानेकोलाई बक्स भित्र ट्याकल गर्दै लडाएपछि उरावा रेडले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।
मेजाले ७३औं मिनेटमा गोल गर्दै रिभर प्लेटको जित पक्का गरे । उनले आकुनाको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए ।