काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बिहिबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नयाँ कार्यसमितिलाई स्वागत गर्दै बधाइ तथा शुभकामना दिएको छ ।
राखेप कर्मचारी संघको कार्यालयमा राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीलाई मायाको चिनोस्वरुप सम्मान पत्र प्रदान गरिन् । यसैगरी कार्यसमितिका अन्य पदाधिकारी र सदस्यलाई खादा ओढाएर स्वागत गरिन् ।
गत बैशाख २५ गते एनएसजेएफको २०औं साधारण सभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
पदेन सदस्यका रुपमा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेशका उपाध्यक्ष ध्रुवकुमार तुलाधर रहेको कार्यसमितिमा पछि प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनित गरिएको थियो । शाक्यले एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् ।
कर्मचारी संघकी अध्यक्ष भण्डारीले राखेप कर्मचारी र खेल पत्रकारको कार्य क्षेत्र फरक भए पनि उदेश्य भनेको एउटै रहेको बताइन् । उनले नेपाली खेलकुदको विकाशका लागि दुवै पक्ष परिपूरक रहेको पनि जिकिर गरिन् ।
यसैगरी राखेप कर्मचारी संघका पूर्व अध्यक्ष रञ्जन थापाले खेल पत्रकारबाट राखेपका कर्मचारीको समस्याका बारेमा पनि समाचार आउनुपर्ने विचार व्यक्त गरे ।
यसैरी एनएसजेएफका अध्यक्ष अधिकारीले खेल पत्रकार राखेपसँग अलग भएर अगाडि बढ्न नसक्ने बताए । ‘खेल पत्रकारको सबभन्दा पहिलो प्राथमिकता खेल र खेलाडी हो त्यसपछि कर्मचारी र अन्य विविध पक्षमा हाम्रा ध्यान जान्छ । त्यसैले कार्मचारीको समस्यामा विषयमा हामीले खासै चासो दिन सकिरहेका छैनौं । राखेप र एनएसजेएफ दुवै संस्था नेपाली खेलकुदको विकास गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढिरहेका छौं । राखेससँगको सहकार्यविना खेल पत्रकारिताको विकास सम्भव छैन,’अध्यक्ष अधिकारीले भने ।