भुटान। नेपाली महिला फुटबलमा दायाँ र बायाँ दुवै खुट्टा एकनासले चलाउन सक्ने खेलाडी औंलामा गन्न पनि नभेटिने स्थिति छ । फुटबलमा दुवै खुट्टा चलाउन सक्नु आफैंमा कठिन काम हो ।
दुवै खुट्टा चलाउन सक्ने प्रतिभाबारे चर्चा गर्दा नेपाली राष्ट्रिय युवा टोलीकी रक्षक आशिका कार्की दंग पर्छिन् । आशिका अर्थात राष्ट्रिय यु-१७ टोलीमा ‘भर्सटाइल’ खेलाडीको छवि बनाएकी किशोरी । ‘बोथ फुटेड प्लेयर’ आशिका ।
आशिका अहिले भुटानको राजधानी थिम्पुमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा विपक्षी आक्रमण रोक्न व्यस्त छिन् । खासमा आशिका अट्याकिङ मिडफिल्डर/विंगर हुन् । दायाँ र बायाँ दुवै साइडबाट आक्रमण बुनिरहेकी हुन्छिन् । तर, आफ्नो प्रतिभाकै कारण अहिले उनको जिम्मेवारी फेरिएको छ । अहिले उनी लेफ्ट ब्याक पोजिसनमा खेलिरहेकी छन् ।

‘सुरुमा दायाँ खुट्टा मात्र चल्थ्यो । पछि गाउँमा पानी परिरहेका बेला फुटबल खेल्दा खुट्टामा चोट लाग्यो । त्यसपछि मैले बायाँ खुट्टाले खेल्न बल गरेँ,’ मुसुक्क हाँस्दै आशिका सुनाउँछिन्, ‘एक वर्ष भयो बायाँ खुट्टामै खेलिरहेको पनि । अहिले दायाँभन्दा बायाँ खुट्टा बढी चल्छ ।’
थिम्पुमा नेपाली टोली जुन लक्ष्य लिएर आएको थियो, त्यो पूरा भएन । टोलीले सोचेअनुुरुप प्रदर्शन गर्न सकेन । प्रतियोगितामा नेपालले आइतबार अन्तिम खेल खेलिरहँदा पाँचमध्ये चारमा हार बेहारेको छ । यद्यपि भुटानको यस भ्रमणमा केही न केही सकारात्मक उर्जा दिने पक्ष अवश्य देखिएका छन् । त्यो हो केही खेलाडीले देखाएको सम्भावना र आँट ।
कलिला किशोर÷किशोरीलाई परिपक्व खेलाडीमा रूपान्तरण गर्न सहयोग गर्ने मञ्च हो, उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिता । खेलाडीको सम्भावना र आँटलाई पहिचान हुने ठाउँ हो उमेर समूह । आशिका यही सम्भावना र आँट बोकेकी प्रतिभा हुन् ।

‘पावर’ र ‘रन’ आशिकाको प्रमुख विशेषता हो । बल पासिङमा एकुरेसी आशिकाको खुबीमा पर्दछ । टोलीको प्रमुख ‘सेटपिस टेकर’मध्ये एक हुन् । मुख्यतः उनी टोलीकै सबैभन्दा मिहिनेती खेलाडीमा पर्छिन् ।
‘आशिकाको मिहिनेत साँचिक्कै प्रशंसायोग्य छ । मैदानमा आशिका जसरी डटिरहेका हुन्छिन्, त्यो देख्दा जो कोही पनि मोहित हुनसक्छ,’ सहायक प्रशिक्षक नरेश थापा भन्छन्, ‘यही मिहिनेतलाई निरन्तरता दिने हो भने नेपाली फुटबलमा आशिकाको भविष्य उज्ज्वल देख्छु ।’
मैदानमा आशिकाको एउटा नराम्रो बानी पनि छ । उनी बेलाबखत आँसु बगाइरहेकी हुन्छिन् । आफूबाट केही गल्ती भयो भने उनी आफूलाई सम्हाल्न सक्दिनन् । अब त उनका सहकर्मीले पनि उनलाई ‘रुन्ची’ भन्न थालिसकेका छन् ।

मोरङ पथरीमा जन्मिएकी आशिकाको भुटान यात्रा दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । गत वर्ष मार्चमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपमा पनि आशिका टोलीकी सदस्य थिइन् । आशिकाले डिसेम्बरमा भुटानविरुद्धको मैत्रीपूर्ण खेल पनि खेलेकी थिइन् ।
स्थानीय श्री बुद्ध माविकी छात्रा आशिका अहिले कक्षा १० मा अध्ययन गर्छिन् । उनी फुटबल खेल्न भनेरै लागेको तीन वर्ष भयो ।
‘सुरु–सुरुमा स्कुलका केटा साथीहरूसँग खाली खुट्टा खेल्थें । किपर बस्थें, हातहरु सुनिन्थ्यो,’ आशिका सुरुआती दिन सम्झिन्छिन्, ‘बुद्ध मावि आइसकेपछि फुटबलसँग अझ नजिकिएँ । पछि राम्रो हुँदै गएपछि सँगै खेल्ने दिदीहरूबाट साथ र सहयोग पाएँ ।’

तीन वर्षअघि राष्ट्रिय यु-१५ टोलीले बंगलादेशमा साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यतिबेला १२ वर्षकी आशिका टोलीको अन्तिम छनोटमा अटाउन सकिनन् ।
आशिका भुटान भ्रमणपछि एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताका लागि काठमाडौंको चर्च ब्वाइज युनाइटेडसँग जोडिँदै छन् । चर्च ब्वाइज आशिकाको करिअरको दोस्रो व्यावसायिक टोली हो ।
गत वर्ष आशिकाले एन्फा राष्ट्रिय लिगमा कोशी प्रदेश फुटबल संघको प्रतिनिधित्व गरेकी थिइन् । सुर्खेतमा सम्पन्न छनोट प्रतियोगितामा शीर्ष तीनभित्र अटाउँदै कोशीले काठमाडौं उपत्यकाको टिकट काटेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मैदानमा सम्पन्न लिगमा सिमरन राई, झुमा विश्वकर्मा, समीक्षा मगर, अनिशा राई जस्ता युवा प्रतिभा थिए । आशिकाले सबै ९ खेलमा निर्धारित समयको अन्तिम केही मिनेट मैदानमा बिताइन् ।
पहिलो चरण अंकतालिकामा शीर्ष पाँचभित्र अटाउँदै कोशी फाइनल चरण अर्थात् ‘सुपर स्टेज’का लागि छनोट भएको थियो । तर, पैसा अभावको कारण देखाउँदै कोशीले फाइनल चरणबाट आफ्नो नाम फिर्ता लियो । जसका कारण आशिकासँगै अन्य युवा प्रतिभा आफ्नो क्षमता प्रदर्शन गर्नबाट वञ्चित भए ।
‘दिदीहरूको मिहिनेत र टिमवर्कले हामी सुपर स्टेजमा छनोट हुन सफल भएका थियौं । तर, छनोट हुँदाहुँदै पनि खेल्न पाइएन,’ आशिका तीतो अनुभव सुनाउँछिन्, ‘आफ्नो ठाउँमा अन्य कुनै टोलीले खेलेको देख्दा एकदमै गाह्रो हुने रहेछ । दसैं बिदामा घर फर्किएको थिएँ, त्यसपछि दोस्रो चरण खेल्न काठमाडौं आउनै पाइनँ । म खेल्न नपाएकामा दुखेसो छैन । दिदीहरूका लागि नराम्रो लागेको थियो ।’

भदौ दोस्रो साताबाट सुरु लिगको पहिलो चरण सकिएलगत्तै कोशीका खेलाडी दसैं मनाउन आ-आफ्ना घर गए । दसैंपछि सुपर स्टेज तयारीमा जुट्ने योजना थियो । तर, त्यस्तो भएन । कोशी नखेल्ने भएपछि छैटौं स्थानको बागमती युवा क्लबले सुपर स्टेज खेल्ने मौका पाएको थियो ।
सिनियर टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्ने सपना बुन्न थालिसकेकी आशिकालाई टोलीमा पर्न सहज भने पक्कै हुने छैन । यसलाई उनले राम्ररी बुझेकी छन् ।
अट्याकिङ मिडफिल्डमा पछिल्लो समय सविता रानामगरको रवाफिलो उपस्थिति छ । विमला चौधरी र अनिता बस्नेत जस्ता सिनियर खेलाडी अहिले पनि उत्तिकै उर्जासाथ खेलिरहेका छन् । सुष्मा तामाङ, सुक्रिया मिया, सेनु परियार जस्ता युवा जोस पनि सिनियर टोलीको अट्याकिङ पोजिसनमा अब्बल छन् । आशिकाकी यु-१७ सहकर्मी कप्तान भूमिका बुढाथोकी र बबतिका कार्की पनि यही पोजिसनमा खेल्छन् । यही कारण प्रतिस्पर्धा कठिन हुने अनुमान गरिएको हो । 'फुल ब्याक' पोजिसन पनि यो कुराले अछुतो छैन ।

आशिका जस्ता खेलाडीको हकमा तत्काल को कहिले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउने कुरा महत्त्वपूर्ण होइन । अहिले महिला फुटबललाई चाहिएको छ, यिनै खेलाडीको प्रतिभा बुझ्न सक्ने सक्षम फुटबल प्रशासन ।
खेलाडीले आफ्नो सय प्रतिशत दिँदादिँदै पनि कम बन्द प्रशिक्षण समय पाएकै कारण थिम्पुमा नेपाली युवा टोली मैदानमा फ्लप हुनुपर्ने बाध्यात्मक स्थिति र्सिजना भएको थियो । बजेट अभावकै बहानामा युवा प्रतिभाहरू खेल खेल्नबाट वञ्चित भइरहेको स्थितिलाई एन्फाले सही ढंगले खेल्ने अवसर दिनुपर्ने युवा खेलाडीहरूको अपेक्षा छ ।