दाङ । फुटबलको परिभाषा निकै बहुआयामिक छ । दार्शनिकहरूले यसलाई विभिन्न तबरले व्याख्या गरिरहेका हुन्छन् । पक्कै पनि फुटबल भनेको केवल एउटा खेलमात्र होइन । यो भनेको मनोरञ्जन हो । फुटबल शिक्षा हो । फुटबल हजारौं÷लाखौंलाई रोजगारी दिने एउटा उद्योग हो । सही तरिकाले सञ्चालन गर्न सके आफैमा फुटबल एउटा प्रभावशाली अर्थतन्त्र हो । अनि फुटबल लाखौं/करोडौंलाई एउटै मालामा उन्ने एउटा उन्नत संस्कृति हो ।
नेपालको हकमा चाहिँ फुटबल भनेको समग्र जनताको साझा भावना हो । गल्लीका बालबालिकादेखि रंगशालामा हुटिङ गर्ने दर्शकसम्म सबैले फुटबलसँग प्रेम गर्छन् । तर विडम्बना के भने यही लोकप्रिय खेल आज अस्तव्यस्त अवस्थामा छ । घरेलु लिग ठप्प छ । खेलाडी बेरोजगार छन् । राष्ट्रिय टिम कमजोर बन्दै छ । यस्तो अवस्थामा नेतृत्व दूरदृष्टिसहित चुस्त, दुरुस्त, परिपक्व र प्रतिबद्ध हुनुपर्थ्यो । तर दुःखको कुरा नेतृत्व नै दिशाहीन छ । यी केवल समाचारका शीर्षकमात्र होइनन्, खासमा यथार्थका कठोर प्रमाण हुन् ।
विगत केही वर्षमा फुटबलप्रति चासो राख्ने धेरै सञ्चारमाध्यमले एन्फा नेतृत्वको कमजोरी उजागर गरेका छन् । २६ महिनासम्म ‘ए’ डिभिजन लिग सञ्चालन भएन । ‘बी’ र ‘सी’ डिभिजन क्लबहरू अझै अन्योलमै छन् । नियमित प्रतिस्पर्धा नहुँदा स्वभाविक रूपमा खेलाडीको खेलकौशल घट्यो, आत्मविश्वास कमजोर भयो र धेरैले रोजगारी गुमाए । घरेलु लिग स्थिर नभएसम्म राष्ट्रिय टिम बलियो हुँदैन । तर नेतृत्वले यी आधारभूत सत्यलाई नै बेवास्ता गरेको छ ।
यथार्थ के हो भने, फुटबल संघले वार्षिक पाउने बजेटको एक चौथाई मात्र पनि प्रभावकारी रूपमा प्रयोग गरे पाँच वर्षभित्रै नेपाली फुटबलमा नसोचेको परिवर्तन ल्याउन सकिन्थ्यो ।
नेपाली फुटबलको दुरावस्था चिर्न निजी स्तरबाट केही प्रयास नभएका होइनन् । देशका विभिन्न ठाउँमा फुटबल एकेडेमीहरू स्थापना भएका छन् । तर यी संस्थाहरूसँग सहकार्य गर्नुपर्नेमा नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले प्रायः प्रतिस्पर्धा गर्न खोजेजस्तो देखिन्छ । कतारले निजी एकेडेमी र राष्ट्रिय संघबीच सहकार्य गरेर विश्वस्तरीय खेलाडी तयार पार्यो । जापानले जे लिग स्थापनापछि विद्यालयदेखि शीर्षस्तरका व्यावसायिक क्लबसम्म अटाउने गरी पिरामिड शैलीमा एकीकृत संरचना निर्माण गर्यो । भुटानले समेत हालसालै घरेलु लिगलाई स्थिरता दिँदै आधारभूत पूर्वाधार विकास गरिरहेको छ । नेपालमा पनि यस्तै गर्न सकिने सम्भावना प्रचुर छ । त्यसका लागि चाहिने केवल दृष्टि र प्रतिबद्धता मात्र हो ।
एन्फामा फुटबलप्रतिको समर्पणभन्दा व्यक्तिगत स्वार्थ ठूलो बनेको छ । केही व्यक्तिको घमण्ड र असक्षमताले संस्थालाई अविश्वसनीय बनाइदिएको छ । यथार्थ के हो भने, फुटबल संघले वार्षिक पाउने बजेटको एक चौथाई मात्र पनि प्रभावकारी रूपमा प्रयोग गरे पाँच वर्षभित्रै नेपाली फुटबलमा नसोचेको परिवर्तन ल्याउन सकिन्थ्यो ।
यो रकमबाट के गर्न सकिन्थ्यो ?
पहिलो, स्थायी घरेलु लिग सञ्चालन गर्न सकिन्छ । जसलाई स्पष्ट क्यालेन्डरमा बाँधेर नेपाली फुटबललाई सही बाटोमा डोर्याउन सकिन्छ ।
दोस्रो, प्रत्येक प्रदेशमा आधुनिक प्रशिक्षण केन्द्र र खेल मैदान निर्माण गर्न सकिन्थ्यो । जसबाट स्थानीय स्तरबाटै फुटबलको माहोल चलायमान बनाएर शीर्षस्तरसँग जोड्न सकिन्छ ।
सबभन्दा ठूलो चुनौती नेपाली फुटबलले जनस्तरमा गुमाएको विश्वास फिर्ता ल्याउनुपर्ने छ ।
तेस्रो, निजी फुटबल एकेडेमीहरूसँग सहकार्य गरेर नयाँ प्रतिभा पहिचान गर्दै तिनलाई सही तरिकाले अगाडि बढाउन सकिन्छ । पहिचान गरिएका खेलाडीका लागि व्यवस्थित तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ ।
चौथो, बालबालिकादेखि राष्ट्रियस्तरसम्म प्रशिक्षक र प्राविधिक तालिमलाई सशक्त बनाउँदै प्राविधिक पाटोमा देखिएको कमजोरी सुधार्न सकिन्छ ।
पाँचौं, सबभन्दा ठूलो चुनौती नेपाली फुटबलले जनस्तरमा गुमाएको विश्वास फिर्ता ल्याउनुपर्ने छ । त्यसका लागि नेतृत्वले वित्तीय पारदर्शिता कायम गर्दै फुटबललाई पुरानै स्तरमा समग्र नेपालीले अपनत्व लिने खेलका रूपमा पुनर्स्थापित गर्न सकिन्छ ।
कतारले सन् २००४ मा एस्पायर एकेडेमी स्थापना गरेर २०२२ सम्म विश्वकप आयोजना मात्र नभई प्रतिस्पर्धी टिम पनि तयार पार्यो । जापानले १९९० को दशकमा दीर्घकालीन योजना बनाएर दुई दशकमै एसियाको प्रमुख फुटबल शक्तिका रूपमा आफूलाई उभ्यायो । यस्ता उदाहरणहरूले देखाउँछन्, दीर्घकालीन दृष्टि र प्रतिबद्ध नेतृत्व भए फुटबलमा चमत्कार सम्भव छ । नेपालसँग पनि त्यो क्षमता छ ।
व्यक्तिगत प्रयास, निजी एकेडेमी र क्लबहरूले गरेका कामहरू प्रशंसनीय छन् । तर यस्ता पहलहरूले मात्र फुटबललाई विश्वस्तरमा पुर्याउन सक्दैन ।
एन्फा नेतृत्वले जिम्मेवारीसाथ आफूलाई प्रस्तुत गर्ने हो भने पहिलो काम घरेलु लिगलाई स्थिर बनाउने तत्परता देखाउनुपर्छ । त्यसपछि निजी-सार्वजनिक साझेदारीमार्फत प्रतिभा विकास गर्ने, संघलाई पारदर्शी बनाउने र खेलाडीलाई दीर्घकालीन योजनाअन्तर्गत अगाडि बढाउन ढिलो गर्नुहुन्न । यसबाट नेपाली फुटबल त लाभान्वित हुन्छ नै । सँगै यसैले देशभित्र हजारौं युवाको भविष्य सुरक्षित पार्छ ।
जति बेथिति र भद्रगोल भए पनि फुटबलको अस्तित्व कायम रहन्छ । फुटबल कहिल्यै पनि मर्दैन, तर असक्षम नेतृत्वले यसको भविष्य चाहिँ धुमिल बनाउन सक्छ । व्यक्तिगत प्रयास, निजी एकेडेमी र क्लबहरूले गरेका कामहरू प्रशंसनीय छन् । तर यस्ता पहलहरूले मात्र फुटबललाई विश्वस्तरमा पुर्याउन सक्दैन । त्यसका लागि योजनाबद्ध कार्यशैली, प्रतिबद्ध नेतृत्व, स्पष्ट दृष्टि र सामूहिक प्रयास अनिवार्य छ ।
नेपालको फुटबल अझै पनि माथि उठ्न सक्छ । तर एउटा प्रश्न चाहिँ अझै बढी सान्दर्भिक भएको छ, के वर्तमान नेतृत्व आफ्नो जिम्मेवारी बुझेर त्यहीअनुसार काम गर्न तयार छ, कि अब नेतृत्वमा नयाँ पुस्ता आवश्यक हो ? समय थोरै मात्र बाँकी छ, तर अझै ढिला पनि भइसकेको छैन ।