बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको दोस्रो दिन आज शनिबार विभागीय टोली नेपाल पुलिस क्लब र भारतको सिलिगुढी क्लबबीच प्रतिस्पर्धा हुँदै छ । नेपालगन्ज रंगशालामा हुने खेल दिउँसो ४ बजे हुनेछ ।
राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान निरु थापाको कप्तानीमा पुलिस टिम मैदान उत्रिँदै छ । व्यावसायिक फुटबल करियरमा निरु पहिलो पटक गृहजिल्ला बाँकेमा खेल्दै छिन् ।
नेपालगन्ज रंगशालामा पहिलो पटक महिला फुटबल प्रतियोगिता भइरहँदा निरुले करियरको उत्तरार्धमा यो मौका पाएकी हुन् । ६ वर्षअघि नेपालगन्ज रंगशालामा आठौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । तर, महिला फुटबल भने दाङमा भएकाले उनले घरेलु भूमिमा खेल्ने मौका पाइनन् ।
सिलिगुढीलाई पराजित गरे पुलिसले सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गर्नेछ । शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघमाथि ४–० को सहज जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।
सिलिगुढीविरुद्ध पुलिसका तीन प्रमुख खेलाडी मैदानमा देखिने छैनन् । गत सातामात्र रक्षक पूजा राना र मिडफिल्डरद्वय विर्सना चौधरी र सम्झना लावती ट्रान्सपोर्ट युनाइटेड एफसीबाट भुटानी लिग खेल्न त्यसतर्फ गएका छन् ।
आठ टोलीको सहभागिता रहेको लुम्बिनी कपमा घरेलु टिम बाँके ११, एपिएफ, पुलिस, आर्मी क्लबसहित कर्णाली एफसी, सुदूरपश्चिम एफसी, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलिगुढी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगिता विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार गर्नेछन् ।
हरेक खेलका प्लेयर अफ द म्याच र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले बताएको छ । खेलको प्रत्यक्ष प्रशारण खेलाडी डटकमको युट्युब च्यानल र फेसबुक पेजबाट भइरहेको छ ।