काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को प्लेअफ समीकरण पूरा भइसकेको छ । साबिक विजेता ललितपुर सिटी एफसी र उपविजेता धनगढी एफसीसँगै एफसी चितवन र पोखरा थन्डर्सले प्लेअफ खेल्नेछन् । पहिलो क्वालिफायर ललितपुर र धनगढीबीच हुनेछ । यो खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले इलिमिनेटर खेल्नेछ ।
दोस्रो क्वालिफायरमा चितवन र चौथो भएको पोखरा थन्डर्स भिड्नेछन् । पराजित टोली बाहिरिने छ भने विजेता टिमले पहिलो क्वालिफायरको पराजित टिमसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ ।
लिग चरणको अन्तिम खेलमा चितवनले अप्रत्यासित नतिजा निकालेपछि पहिलो एनएसएल विजेता काठमाडौं भने पहिलो पटक प्लेअफ बाहिर पुग्यो । समान ८ अंक भए पनि काठमाडौं पोखराभन्दा गोल अन्तरले पछि परेको हो । काठमाडौं लिग चरणको अन्तिम खेलमा चितवनको हार चाहन्थ्यो । तर, उसले सोचेजस्तो हुन सकेन ।
काठमाडौैले खेलेका ६ मध्ये २ खेलमात्रै जित्यो । दुई बराबरी खेल्दा २ खेलमा हार पनि बेहोर्यो । बेल्जियमका प्रो लाइसेन्स प्रशिक्षक प्याट्रिक डे वाइट र फ्रान्सका चर्चित खेलाडी भिन्सेन्ट कोजिएलो अनुबन्ध गरे पनि दोस्रो पटक उपाधि जित्ने स्वामित्व लिएको यामाहा कम्पनीको योजना सफल हुन सकेन ।
यता, खराब प्रदर्शन गर्दै बुटवल लुम्बिनी र झापा एफसी बाहिरिए । बुटवलले एउटै खेल जित्न सकेन । भुटानका प्रो लाइसेन्स प्रशिक्षक पुष्पलाल शर्मासहित पाँच विदेशी खेलाडी अनुबन्ध गरेको बुटवल ५ हार बेहोर्न पुग्यो । टोलीले मात्र एक अंक जोड्दा पुछारमा रह्यो ।
यता, झापाले पनि जितको स्वाद चाख्नै पाएन । टोलीले ५ खेल बराबरी खेल्दा एकमात्रै हार बेहोरेको थियो । प्रवेश कटुवालको प्रशिक्षणमा रहेको झापाका विदेशी मात्रै हैन नेपाली खेलाडी पनि चल्नै सकेनन् ।
प्लेअफ पुगेका चार टिम
ललितपुर सिटी एफसी
प्रतियोगितामा साबिक विजेता ललितपुर सिटी एफसीले च्याम्पियन टोलीको योजना, लक्ष्य र आफ्नो प्रदर्शन कस्तो छ हरेक खेलमा देखाउन सफल भयो । स्तरीय विदेशीसहित अक्सनमै नेपाली खेलाडी खरिद गरेको ललितपुर प्रतियोगिताको एकमात्र अपराजित टोली हो । ६ खेल खेल्दा टोलीले तीन जित निकाल्यो ।
तीन खेलमा बराबरी खेल्दा सर्वाधिक १२ अंक जोडेको छ । कप्तान अनन्त तामाङसहित राष्ट्रिय टिमका सनिश श्रेष्ठ, योगेश गुरुङ, मणिकुमार लामाले उत्कृष्ट प्रदर्शन गरेका छन् । युवा खेलाडी सन्तोष खत्री, आदित्य शाक्य, दिपेश घलेलगायतले पनि सानदार प्रदर्शन गरे । यता, विदेशी खेलाडीको प्रदर्शन पनि उच्च छ । जोनाथन कान्टिलानाले सर्वाधिक तीन र इमोह इजिकेलले दुई गोल गरेका छन् ।
धनगढी एफसी
धनगढी एफसीले लगातार तेस्रो पटक प्लेअफमा स्थान बनाएको छ । अघिल्ला दुई संस्करण फाइनलमा अभागी बनेको धनगढी तेस्रो पटक च्याम्पियन बन्ने योजनामा छ । टोलीको प्रदर्शन पनि सोहीअनुसार रह्यो । ६ मध्ये तीन खेल जित्दा ११ अंकसहित शीर्ष दुईमा अटायो ।
यसपटक धनगढीले पहिलो खेलमै बुटवल लुम्बिनीलाई ४–१, चौथो खेलमा काठमाडौैलाई ३–१ र पाँचौं खेलमा झापा एफसीलाई १–० ले हरायो । कृतिशरत्न छुन्जु मार्की रहेको धनगढीले ललितपुर र पोखरासँग बराबरी खेल्दा लिग चरणको अन्तिम खेलमा चितवनसँग अप्रत्यासित रूपमा ३–१ ले पराजित भएको हो । टोलीले प्रतियोगितामा गरेको ८ मध्ये ५ खेलमात्रै लेवनानका स्ट्राइकर अहमद हिजाजीले गरेका छन् ।
एफसी चितवन एफसी
एनएसएलको इतिहासमा चितवन पहिलो पटक प्लेअफमा पुगेको छ । यसअघिका दुई संस्करणका कमजोर प्रदर्शन गरेपछि आइएमई ग्रुपको स्वामित्वमा रहेको चिवतनले यसपटक पहिलो प्लेअफको योजना साकार बनायो । प्रशिक्षकमा नेपालका प्रशिक्षक नवीन न्यौपाने र मार्कीमा अञ्जन विष्टलाई भित्र्याएको थियो ।
फलतः लगानीअनुसार टिम प्लेअफमा स्थान बनाउन सफल भयो । टोलीले ६ मध्ये तीन खेलमा जित र एक बराबरीसहित १० अंक जोडेर तेस्रो स्थानमा आफूलाई उभ्याएको छ । अन्तिम खेलमा धनगढीलाई हराएपछि चितवन प्लेअफमा स्थान बनाउन सफल भएको हो ।
पोखरा थन्डर्स
पोखरा थन्डर्स लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन सफल भएको छ । पहिलो संस्करण लिग चरणमै खुम्चिएको टोलीले दोस्रो एनएसएलमा इलिमिनेटर खेल्यो । यसपटक पुनः प्लेअफमा स्थान बनाउन सफल भयो । सुरुका दुई खेलमा चितवन र ललितपुरसँग पराजित भएपछि पोखरा दबाबमा आएको थियो ।
त्यसपछिका चार खेलमा दुई जित र दुई बराबरी खेलेपछि सुमन श्रेष्ठको प्रशिक्षणमा रहेको पोखरा लयमा आएको हो । कप्तान समीर तामाङको स्टेफन समिर बिनोङले दुई गोल गर्दा जोइ आइडु, आयुष घलान र विलियम बिआसीले समान एक गोल गरेका छन् । त्यस्तै टोलीका लागि पदक भट्टराई, सुरजज्यू ठकुरी, एकराज बुढाथोकी र साइदोस्टन डिजाफारोभले उत्कृष्ट प्रदर्शन गरेका छन् ।