काठमाडौं । डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्सको पाकिस्तान सुपर लिग(पिएसएल) २०२६ मा विजयी सुरुवात गरेको छ ।
लाहोरले बिहिबार भएको लिगको उद्घाटन खेलमा नवप्रवेशी टोली हैदराबाद किंग्सम्यानलाई ६९ रनको फराकिलो अन्तरले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ६ विकेट गुमाएर १९९ रनको योगफल तयार गरेको थियो ।
लाहोरका लागि फखर जमामले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले । उनले ३९ बलको सामना गर्दै १० चौका प्रहार गरेका थिए । मोहम्मद नैम १९ बलमा ३० तथा सिकन्दर राजा १० बलमा २४ रनमा आउट हुँदा हसिबुल्लाह खान ४० रनमा अविजित रहे ।
हैदराबादका लागि राइली मेरिडेथ र हसन खानले समान २ तथा मोहम्मद अलिले १ विकेट लिए ।
२०० रनको लक्ष्य पछ्याएको हैदराबाद २० औं ओभरको अन्तिम बलमा १३० रनमा अल आउट भयो । हैदराबादका लागि कप्तान मार्नोस लाबुस्चेनले सर्वाधिक २६ रन बनाउँदै आउट भए । हसिम अजाम र मोहम्मद अलि समान १० तथा सैयम अयुब १७ रनमा आउट हुँदा राइली मेरिडेथ १९ रनमा अविजित रहे ।
लाहोरका लागि उबिद शाह, सिकन्दर राजा र हरिस रउफले समान २ तथा कप्तान शाहिन शाह अफ्रिदीले १ विकेट लिए , पहिलो खेल जितबाट सुरु गरेको लाहोरको २ अंक भएको छ । नयाँ टोली हैदराबादको सुरुवात भने सुखद रहन सकेन ।
गत संस्करणको फाइनलमा क्वेटा ग्लाडियटर्सलाई अन्तिम बलमा हराउँदै रोमाञ्चक जितका साथ च्याम्पियन बनेको लाहोर सोही जितको लयलाई निरन्तरता दिएको छ ।
पिएसएलमा कुन ८ टोली सहभागी रहेकामा डबल राउण्ड रोबिन फर्म्याटमा लिग चरणका खेल हुनेछन् । लिगमा शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । पिएसएल २०२६ को फाइनल खेल ३ मे २०२६ मा रहेको छ ।
