काठमाडौं । जुड बेलिङ्घमले ‘रेमोनटाडा’ शब्द सयौं पटक सुने । रियाल मड्रिडका अरू खेलाडी, प्रशिक्षक र समर्थकमाझ अनि सामाजिक सञ्जाल सबैतिर यो शब्दको प्रयोग खुबै भयो । स्पेनी भाषामा यसको सामान्य अर्थ हो, पुनरागमन ।
तर पुनरागमन किन त्यति सजिलो हुन्थ्यो र ? प्रशिक्षक कार्लो एन्सेलोटीले त चेतावनी दिएकै थिए, ‘फुटबल कुनै जादु होइन ।’ आखिरमा सान्टियागो बर्नाबेउले कुनै जादु देखेन । रियाल आर्सनलसँग फेरि हार्यो । हार रियालका लागि ‘रियालिटी’ थियो । यो सिजन उनीहरूले कसरी खेलेका छन्, त्यसको यथार्थ चित्रण थियो ।
स्पेनको सबैभन्दा बलशाली क्लब रियालले आफ्नो रंगशालामा कयौं पटक बडेमानका प्रतिद्वन्द्वीलाई ढालेको छ । यसपालि पनि भनियो, पहिलो लेग हारेर के भयो र, दोस्रो लेगमा रियालले आर्सनललाई पराजित गर्नेछ । समग्र जितका लागि चाहिए जति गोल गर्न किलियन एमबाप्पे, भिनिसियस जुनियरहरू असमर्थ भए । बरू, दोस्रो लेग पनि गुमाए ।
एन्सेलोटीले बर्खास्तगी नै भोग्न सक्छन् । आउँदो फुटबल सरुवा बजारमा कयौं खेलाडी बेचिन सक्छन् । सम्भावित बिक्री सूचीमा केही यस्ता खेलाडी पर्न सक्छन् जसलाई रियालले वर्तमान र भविष्य बलियो बनाउन स्पेन लगेको थियो ।
खेलपछि रियालका प्रशिक्षक एन्सेलोटी दार्शनिक जस्तो सुनिए । कुशल रणनीतिकारको छवि बनाएका यी इटालीका लागि दार्शनिक जस्तो सुनिन खोज्नु बाध्यता थियो । ‘फुटबलले कि खुसी दिन्छ कि त दुःखी बनाउँछ । आज हामी दुःखी हुनुपर्याे । यो यथार्थ स्वीकार गर्नुपर्छ । हारपछि आउने सबै टिप्पणी आत्मसात गर्नुपर्छ । यसअघि फुटबलले दिएका तमाम खुसी बिर्सन हुँदैन,’ एन्सेलोटीको भनाइ थियो ।

च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा इमिरेट्समा ३-० ले हारेको रियाल दोस्रो लेगमा २-१ ले पराजित भएपछि मड्रिडमा भूकम्प गएको छ । यसको क्षतिको आँकलन हुनै बाँकी छ । कतिसम्म भने एन्सेलोटीले बर्खास्तगी नै भोग्न सक्छन् । आउँदो फुटबल सरुवा बजारमा कयौं खेलाडी बेचिन सक्छन् । सम्भावित बिक्री सूचीमा केही यस्ता खेलाडी पर्न सक्छन् जसलाई रियालले वर्तमान र भविष्य बलियो बनाउन स्पेन लगेको थियो । जस्तै, भिनिसियस जुनियर । उनलाई साउदी अरबी फुटबलका बादशाहहरू आफ्नो मरुभूमिका लागि उपयुक्त छन् भन्ने निक्र्योलमा पुगे भने फ्लोरेटिनो पेरेजले कसरी होइन भन्न सक्लान् र ?
युरोपेली क्लब फुटबलको नकआउट चरणको मज्जा यही हो, दोस्रो लेगले समग्र नतिजा पल्टाउन सक्छ । तर यसपालि त रियल दुवै लेगमा पछारियो । ‘यथार्थ यही हो, हामीले दुवै खेलमा खराब प्रदर्शन गर्यौं । हामीले चाहिए जति गोल गर्न सक्ने होइन, उनीहरूले थप्ने स्थिति थियो । त्यसकारण आर्सनल हामीभन्दा बलियो थियो भनेर स्वीकार गर्नुको विकल्प छैन,’ फ्रान्सेली फुटबलमा सर्वकालीन महान् मानिने जिनेदिन जिदानले रियालमा लगाएको जर्सी भिरेका बेलिङ्घमले भने ।
यो सिजन सुरु हुँदै गर्दा एन्सेलोटीले छाती फुलाउँदै भनेका थिए, गोलको कमी हामीलाई हुने छैन । उनको यो उद्घोष वास्तवमा पत्याउने खालकै थियो । तर अन्ततः ‘गोल मेसिन’ मानिने एमबाप्पेसमेत फिक्का देखिए ।
रियालका तीन फरवार्ड एमबाप्पे, भिनिसियस र रोड्रिगोबारे मनमा झट्ट आउने धारणा के हो भनेर कसैलाई सोधियो भने आउने जवाफ यही हो, उनीहरू जुनसुकै बेला जोसुकैविरुद्ध गोल गर्न सक्छन् । त्यही भएर त आशा थियो, बर्नाबेउमा उनीहरूले तीन गोल गरिहाल्छन् ।
तर, उनीहरूले जसरी खेलको सुरुआत गरे, तीन गोलको कुरा छाडौं, एउटा गोल पनि नगर्लान् कि भन्ने डर पैदा हुन थालेको थियो । दोस्रो हाफमा भिनिसियसको नाममा दर्ता भएको गोल उनको आफ्नो मिहिनेतभन्दा पनि आर्सनलको उपहार दिने निर्णयका कारण सम्भव भएको थियो । दुई लेगको १८० मिनेटको खेलमा रियालका जम्मा ६ प्रहार मात्र आर्सनल पोस्टको ठ्याक्कै अगाडि पुगेको थियो ।

यो सिजन सुरु हुँदै गर्दा एन्सेलोटीले छाती फुलाउँदै भनेका थिए, गोलको कमी हामीलाई हुने छैन । उनको यो उद्घोष वास्तवमा पत्याउने खालकै थियो । तर अन्ततः ‘गोल मेसिन’ मानिने एमबाप्पेसमेत फिक्का देखिए । पहिलो लेगमा अपत्यारिलो पराजय भोगेपछि एन्सेलोटीले आफ्ना खेलाडीलाई स्पष्ट रूपमा चेतावनी दिएका थिए, दोस्रो लेगमा यही लय देख्नु नपरोस् । ‘दिमाग, मुटु र जोस सही ठाउँमा प्रयोग गरेर खेल्नू,’ आफ्ना खेलाडीलाई एन्सेलोटीको आदेश थियो । तर, यो आदेश पालना भएन ।
उता आर्सनलका लागि बर्नाबेउमा हुने दोस्रो लेग तेस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नु फगत तगारो मात्र थिएन । युरोपेली क्लब फुटबलले सम्मान गरेको रंगशालाको अनुभव गर्ने अवसर पनि थियो । आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा डर व्यक्त गर्दै थिए, ‘मलाई थाहा छ, यो रंगशालामा दुई मिनेटभित्र खेलको दिशा परिवर्तन हुनसक्छ ।’
रियालले यसपल्टको सिजनमा १२ खेल हारिसकेको छ । त्यसमध्ये ६ खेल रियालले युरोपेली फुटबलमा गुमाएको थियो ।
उनको यो डर तब नक्कली साबित भयो, जब आर्सनलका युवा खेलाडीले खेल आफ्नो कब्जामा लिए । पहिलो लेग आर्सनलले जसरी खेल्यो, बर्नाबेउमा त्यसरी खेल्न जरुरी थिएन । तर, रियालका खेलाडीले आर्सनललाई सजिलो बनाइदिए ।

७७ हजार दर्शक क्षमताको बर्नाबेउमा आर्सनलका समर्थक अलपसंख्यक थिए । तर उनीहरूको आवाज त्यहाँ दबिएन रंगशालाको उत्तरपूर्वी भागमा बसेका आर्सनलका समर्थकले कप्तान मार्टिन ओडेगार्ड, मिकेल मेरिनो, डेक्लान राइस लगायतको प्रत्येक टच, पास र मुभमा ताली बजाए । ओडेगार्डहरूसँग भएको बल रियालका खेलाडीले खोसेर आर्सनलको बक्समा पुर्याइसकेका हुन्थे । आर्सनलका समर्थकको तालीको गड्गडाहट सकिएको हुँदैनथ्यो । किनभने त्यहाँ अपेक्षा के हुन्थ्यो भने डेभिड रायाले रियलका प्रहार रोक्ने छन् । हुन्थ्यो पनि त्यस्तै ।
स्पेनी भए पनि इङ्ल्यान्डमा फुटबल सिकेका रायाले खेलेको एक घण्टापछि मात्र रियालको बलियो प्रहार सामना गर्नुपरेको थियो । विपक्षी गोलकिपर थिबाउट कोर्टुवा त्यही भएर भन्दै थिए, ‘रायाले खासै धेरै प्रहार बचाउनुपरेन ।’ कोर्टुवाले चाहिँ बग्रेल्ती प्रहार सामना गर्नुपर्यो ।
जारी सिजन रियलले धेरै पटक ९० मिनेटपछि गोल खाएको छ । आर्सनलसँगको दोस्रो लेगमा मात्र होइन, कोपा डेल रेको सेमिफाइनलमा सोसिडाड र ला लिगामा भ्यालेन्सियासँगको खेलमा पनि रियलले ९० मिनेटपछि गोल खाएको थियो ।
समूह चरणमा ११ औं स्थानमा सीमित भएको रियाल नकआउट चरणमा पुग्ला भन्ने कमै आस थियो । एट्लेटिकोदेखि आर्सनलसम्म आइपुग्दा रियलको प्रदर्शन विजयी हुन लायक टिमको जस्तो देखिएन
रियालले यसपल्टको सिजनमा १२ खेल हारिसकेको छ । त्यसमध्ये ६ खेल रियालले युरोपेली फुटबलमा गुमाएको थियो । कुल ६६ गोल खाइसकेको रियलले कोपा डेल रेको फाइनल खेल्न बाँकी छ । लिग उपाधि हात पार्ने आशा थोरै भए पनि जीवित छ । तर लिग च्याम्पियन बन्न यही लय लायक छैन । यस्तोमा रियलसामु तेर्सिएको प्रश्न हो, के आर्सनलसँगको हारले लिग च्याम्पियन बन्ने रियलको लक्ष्य कमजोर बनाउँछ ? एन्सेलोटीको सिधा जवाफ छ, ‘बनाउँदैन ।’ उनको भनाइ छ, ‘च्याम्पियन्स लिगमा निराशाजनक बर्हिगमन भोगेपछि हामीले गर्ने भनेको मिहिनेत हो । त्यो पनि शिर ननिहुराएर ।’
एन्सेलोटी आत्मविश्वासी देखिए पनि रियललाई भर गर्ने कारण कम छन् । ठूलो हारपछि रियालका खेलाडीको पुनरागमन गर्ने क्षमताबारे सधैं प्रश्न उठ्ने गरेको छ । नयाँ ढाँचाको च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गर्न म्यानचेस्टर सिटीलाई हराएपछि एन्सेलोटीले भनेका थिए, ‘अब हाम्रो सिजन सुरु भयो ।’ तर भनाइ र गराइमा ठूलो भिन्नता देखियो । उसो त च्याम्पियन्स लिगमा सिटीविरुद्धका दुई खेलमा बाहेक रियालले कहिल्यै प्रभावशाली प्रदर्शन गरेको होइन । प्रिक्वार्टरफाइनलमा सहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथिको जित पनि अपेक्षित थिएन ।

समूह चरणमा ११औं स्थानमा सीमित भएको रियाल नकआउट चरणमा पुग्ला भन्ने कमै आस थियो । एट्लेटिकोदेखि आर्सनलसम्म आइपुग्दा रियालको प्रदर्शन विजयी हुन लायक टिमको जस्तो देखिएन । गोल गर्न नसक्ने मात्र होइन, टाेली हरेक क्षेत्रमा फितलो देखियो । यी चारै खेलमा रियालका खेलाडी विपक्षी खेलाडीभन्दा धेरै कम दौडिए ।
रियालका खेलाडीमा जोसको कमी त थियो नै, प्रशिक्षकको रणनीतिमा पनि प्रश्न उठाउने ठाउँ थियो । आर्सनलसँगको दोस्रो लेगमा हारेपछि कोर्टुवाले दिएको अभिव्यक्तिले पनि यसको पुष्टि गर्छ । ‘स्ट्राइकर नै नभएको खेलमा किन लगातार बल किन क्रस गरिरह्यो, मलाई थाहा छैन । ती तमाम क्रस उपयोग गर्न हामीसँग विगतमा जस्तो जोसेलु थिएनन्,’ कोर्टुवाको भनाइ थियो ।
एन्सेलोटी र रियलबीचको सम्झौता सकिन एक वर्ष बाँकी छ । रियाललाई कयौं उपाधि जिताएका एन्सेलोटीको बर्हिगमनबारे निर्णय लिन पेरेजका लागि सजिलो विषय होइन ।
आर्सनलसँगको भिडन्तमा रियालले राइटब्याक डानी कार्भाहालको कमी महसुस गर्यो । हुन त उनी मैदानमा नदेखिए पनि टनेलमा बुकायो साकासँग भनाभन गरिरहेको देखिएका थिए । मिडफिल्डर टोनी क्रुस जस्तो अर्को खेलाडी नहुनु पनि रियालका लागि ठूलो घाटा थियो । रियालले जर्मन मिडफिल्डरको स्थानमा नयाँ प्लेमेकर अनुबन्ध नगर्नु खराब निर्णय थियो । उसो त विद्यमान समस्या हल नगरी एमबाप्पेलाई भित्र्याएपछि रियाल पूरै अलग दिशामा पुगेको हो । जसले टाेलीलाई असन्तुलित बनाएको छ । उस्तै प्रकृतिका अर्का खेलाडी भिनिसियस र एमबाप्पेलाई मिलाएर खेलाउन एन्सेलोटी असफल देखिएका छन् ।
इङ्लिस क्लबसँगको पराजयपछि समर्थकसामु लुकास भास्केज र कोर्टुवा मात्र देखा परेका थिए । पहिलो लेगको हारपछि जस्तै दोस्रो लेगको पराजयपछि पनि भिनिसियस, रोड्रिगो र एमबाप्पे समर्थकसामुन्ने गएनन् । हारले रन्थनिएका कोर्टुवाले केही महत्त्वपूर्ण अभिव्यक्ति दिएका छन् । उनले रियालका खेलाडीले व्यक्तिगतभन्दा टिमको प्रदर्शनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । ‘एमबाप्पे र भिनिसियसले विपक्षीहरूलाई एक वा दुई पटक पछाडि पार्न सक्छन् । हरेक प्रयासमा सफल हुन्छन् भन्ने छैन,’ उनको भनाइ थियो ।

एन्सेलोटीले पनि आफ्नो टिम व्यवस्थित संरचनामा खेल्न नसकिरहेको स्वीकार गरेका छन् । उनले आफ्ना खेलाडीमा एकता, टिमका लागि त्याग गर्ने भावना नरहेको पनि बताएका छन् । हुन एन्सेलोटी यही भनाइ जारी सिजनको सुरुवातबाटै दोहोर्याइरहेका छन् । टिममा यस्ता भावनाको सिर्जना गर्ने जिम्मेवारी प्रशिक्षकको हो । तर एक व्यक्तिले मात्र यस्तो संस्कृतिको बिजारोपण गर्न सम्भव छैन । रियालमा फुटबल संस्कृतिबारे छलफल गर्दा बिर्सन नहुने तथ्य के छ भने बालोन डीअर समारोह बहिष्कार गर्ने निर्णय एन्सेलोटीको थिएन ।
च्याम्पियन्स लिगबाट बाहिरिएसँगै एन्सेलोटीको भविष्य संकटमा छ । अर्को सिजन उनी बर्नाबेउमा नहुन सक्छन् । र, यसबारे एन्सेलोटी जानकार छन् । उनले आफू राजीनामा दिने मनस्थितिमा नरहेको बताइरहेका छन् । यदि रियाल आफैंले कदम चाले, एन्सेलोटी दुःखी हुने छैनन् । रियालपछि उनको नयाँ जागिर ब्राजिलको राष्ट्रिय टिम हुने अड्कलबाजी चलिरहेको छ ।
एन्सेलोटी र रियालबीचको सम्झौता सकिन एक वर्ष बाँकी छ । रियाललाई कयौं उपाधि जिताएका एन्सेलोटीको बर्हिगमनबारे निर्णय लिन पेरेजका लागि सजिलो विषय होइन । यदि उनलाई हटाउने निर्णय भए कहिले हटाउने ? मिति तोक्न कठिन छ । यसको कारण हो, आउँदै गरेको क्लब विश्वकप । क्लबले लिने जस्तो निर्णय पनि स्वीकार गर्ने एन्सेलोटीको भनाइ छ । ‘मैले भनिसकेको छु, यहाँबाट हिँड्दा म रियाल मड्रिडलाई धन्यबाद दिनेछु । सम्झौता सकिएर बाहिरिँदा होस् वा अबको १० दिनपछि बर्खास्तगीमा पर्दा नै किन नहोस्, मेरा लागि केही फरक हुने छैन । जस्तो स्थितिमा पनि मैले धन्यवाद नै भन्ने हो,’ उनले हालै भनेका छन् ।