काठमाडों । मध्य र तल्लोक्रमका ब्याटर धरासायी बन्दा नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा जित्नै पर्ने दबाबमा रहेको लुम्बिनी लायन्सले सुदूरपश्चिमविरुद्ध १४४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार प्रतियोगिताको ११औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४३ रनको योगफल खडा गरेको हो । स्कोरबोर्डमा १०४ रन हुँदा तीन विकेट गुमाएको लुम्बिनीले त्यसपछि थप ३९ रनमा सात विकेट गुमायो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३६ बलमा तीन चौकासहित ३५ रनको पारी खेले । त्यस्तै विकेटकिपर ब्याटर दीलिप नाथले ३१ रन बनाए । ओपनरद्धय डार्सी सर्ट र सुमित महर्जनले समान १८ रन जोड्दा मध्यक्रमका ब्याटर गुल्बदीन नाइब ११ रनमा पवेलियन फर्किए ।
सुदूरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले समान तीन विकेट लिए । त्यस्तै हेमन्त धामीले दुई तथा स्कट कुगुलेइनले एक विकेट लिए ।

मध्यम सुरुआत गरेको लुम्बिनीले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा एक विकेट गुमाउँदै ५० रन पूरा गरेको थियो । डार्सीलाई तेस्रो ओभरको पाँचौं बलमा हेमन्तले बोल्ड गरेपछि सुदूरपश्चिमले पहिलो सफलता हासिल गरेको थियो । पहिलो विकेटका लागि डार्सी र सुमितले २६ रनको साझेदारी गरे । सुमितले दोस्रो विकेटका लागि रोहितसँग २६ रनकै साझेदारी गरे । सातौं ओभरको तेस्रो बलमा सुमितलाई हर्मितले एलबिडब्लुको शिकार बनाएका थिए ।
त्यसपछि रोहित र दीलिपले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दा लुम्बिनीको पारी सम्हालिएको थियो । १५औं ओभरको पहिलो बलमा विकेटकिपर विनोद भण्डारीको तारिफयोग्य क्याचमा रोहित पवेलियन फर्किन बाध्य भएका हुँदा हे्रमन्तलाई दोस्रो सफलता मिलेको थियो । १५ रनछि गुल्बदीन नाइब अविनाशको बलमा विनोदबाटै क्याच भए । स्कोरबोर्डमा एक रन पनि जोडिन नपाउँदै रुवेन ट्रम्पलम्यान ऐरिको सानदार थ्रोमा रनआउट बने । एक रनपछि क्रिजमा जमिसकेका दीलिपलाई अविनाशले पवेलियनको बाटो देखाए । यसपाली पनि क्याच विनोदले नै लिए ।
लुम्बिनीले सातौं विकेटका रुपमा शेर मल्ललाई गुमायो । १८औं ओभरको अन्तिम बलमा उनी कुगुलेइनबाट बोल्ड भए । १३७ रन हुँदा लुम्बिनीले आठौं र नवौं विकेटका रुपमा सन्दीप जोरा र थोमस ड्राकालाई गुमायो । जोरालाई अविनाशले कुगुलेइनबाट क्याच गराए । त्यस्तै ड्राका हर्मितको बलमा ऐरिबाट क्याच भए । हर्मितको चौथो ओभरमा अभिशेष गौतम ऐरिबाट क्याच भए ।
