काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबकी राइटब्याक प्रतीक्षा चौधरीले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी छन् ।
बुधबार प्रतीक्षाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत इन्डोनेसियाविरुद्ध पहिलोपटक राष्ट्रिय टोलीको जर्सी लगाउन पाएकी हुन् । नेपाल २-१ ले पराजित भएको खेलमा प्रतीक्षाले ७८औं मिनेटमा मिडफिल्डर दीपा शाहीलाई प्रतिस्थापन गरेकी थिइन् ।
तल्लो र माथिल्लो दुबै उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेकी प्रतीक्षाले तेस्रो प्रयासमा अन्तर्राष्ट्रिय क्याप जितेकी हुन् । गत जुनमा उज्वेकिस्तानको तास्केन्दमा सम्पन्न एएफसी एसियन कप छनोट प्रतियोगितामा प्रतीक्षा पहिलोपटक सिनियर टोलीमा परेकी थिइन् । त्यतिबेला नेपालले खेलेको तीनवटै खेलमा प्रतीक्षा बेन्चमा सीमित रहिन् ।
गत महिना नेपालले इरान र भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । सिलोङमा सम्पन्न दुबै खेलमा प्रतीक्षाले ‘प्लेइङ मिनेट्स’ पाइनन् । लगत्तै सिक्किममा सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा प्रतीक्षाले पहिलो रोजाईमै मैदानमा उत्रिने मौका पाएकी थिइन् । तर, उक्त खेलले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा प्रतीक्षाले आधिकारिक ‘डेब्यु’का लागि अझै केही समय कुर्नुपरेको थियो ।
बुधबार योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा नेपाल पहिलो हाफमा बनाएको अग्रतालाई जोगाउन नसक्दा हार बेहोर्न बाध्य भएको हो ।
