दोहा । उरुग्वले बिहीबार कतार विश्वकप २०२२ अन्तर्गत समूह एचको पहिलो खेलमा एसियाली प्रतिद्धन्द्धी दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको छ ।
यसअघि विश्वपमा दुई पटक दक्षिण कोरियाको सामना गरेको उरुग्वेले दुवै पटक जित निकालेको थियो ।
सन् १९९० मा दक्षिण कोरियामाथि १–० को जित निकालेको उरुग्वेले सन् २०१० को विश्वपमा भने २–१ को जित निकालेको थियो ।
अल रेयान रंगशालामा दुवै टोलीले गोलको केही अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनन ।उरुग्वेले रुस विश्वकप २०१८ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । दक्षिण कोरियाले भने रुस विश्वकपमा साविकको विजेता जर्मनीलाई स्तब्ध पारेको थियो । दक्षिण कोरियाको गत संस्करणको यात्रा समूह चरणमा सीमित भएको थियो ।
जर्मनीलाई निराश पार्नु नै दक्षिण कोरियाका लागि रुस विश्वकपको उपलब्धी थियो । सोही लय २०२२ मा पनि कायम राख्ने दक्षिण कोरियाको लक्ष्यले पूर्णता पाएन ।
समूह एच मा दक्षिण कोरिया, उरुग्वे, पोर्चुगल र घाना रहेका छन् । आजै हुने समूह एच को अर्को खेलमा पोर्चुगलले घानाको सामना गर्दैछ ।
जारी विश्वपमा गोलरहित बराबरीमा सकिएको यो चौथो खेल हो । यसअघि डेनमार्कले ट्युनिसिया, पोल्यान्डले मेक्सिको र क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरी खेलेको थियो ।