आइसिसी वरियता

आइसिसी वरीयताः ट्वान्टी २० मा कुशलको छलाङ

दुबई । नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आइसिसी ट्वान्टी २० ब्याटिङ  वरीयतामा ठुलो छलाङ मारेका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेका ट्वान्टी २० ब्याटिङ वरीयतामा कुशल ३९औं स्थानमा उक्लिएका छन् । यसअघि वरीयताको ४८औं स्थानमा रहेका कुशलले नौ स्थान सुधार गरे ।

नेपालको कुनै पनि ब्याटरले हासिल गरेको यो नै शीर्ष वरीयता हो । यस्तै, नेपाली टोलीका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले पनि वरीयतामा तीन स्थान सुधार गरेका छन् । यसअघि ५३औं स्थानमा रहेका दीपेन्द्र नयाँ वरीयताको ५०औं स्थानका उक्लिएका छन् ।

नेपालले हालै ट्वान्टी २० विश्वकपको ग्लोबल छनोट खेलेको थियो । सोही प्रतियोगितामा कुशल र दीपेन्द्रले गरेका प्रदर्शनका आधारमा यी दुई ब्याटरले वरीयता सुधार भएको हो ।

ग्लोबल छनोटमा कुशलले एक शतकसहित एक सय ५० रन जोडेका छन् । यस्तै, दीपेन्द्रले एक अर्धशतकसहित एक सय ५९ रन जोडेका छन् ।

यद्यपि, नेपाल छनोटको सेमिफाइलनमा सयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएसँगै विश्वकपमा छनोट हुन असफल भएको थियो । नेपालले बिहीबार तेस्रो स्थानका लागि घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।