काठमााडौं । पाकिस्तानले एसिसी ट्वान्टी-२० एसिया कपको सुपर फोरमा मंगलबार श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ ।
जितसँगै दुई खेलमा दुई अंक जोडेको पाकिस्तानले फइनल सम्भावना जिवितै राखेको छ । दुवै खेलमा पराजित श्रीलंकाको भने फाइनल सम्भावना समाप्त भएको छ ।
पहिलो खेलमा पाकिस्तान भारतसँग ६ तथा श्रीलंका बंगलादेशसँग चार विकेटले पराजित भएका थिए ।
जायद क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानका लागि मोहम्मद नवाजले अविजिति ३८, शहिबजादा फरानले २४, हुसेन टलाटले अविजित ३२, फखर जमानले १७ र मोहम्मद ह्यारिसले १३ रन बनाए ।
श्रीलंकाका महेश तिक्क्षणा र वानिन्दु हसरंगाले समान दुई तथा दुश्मन्था चामिराले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।
श्रीलंकाका लागि कामिन्दु मेन्डिसले ४४ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५० रन बनाए । यसैगरी कप्तान चरिथ असलंकाले २०, चामिका करुणारत्नेले अविजित १७ तथा कुशल परेरा र वानिन्दु हसरंंगाले समान १५ रन जोडे ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन, ह्यारिस रौफ र हुसेन टालटले समान दुई तथा अब्रार अहमदले एक किकेट लिए ।