काठमाडौं । लिग लिडर रियाल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रालाई लगातार छैटौं खेलसम्म पनि कायम राखेको छ ।
रियालले मंगलबार घरेलु टोली लेभान्टेविरुद्ध ४-१ को सहज जित दर्ता गर्यो । जितसँगै रियालले ६ खेलमा १८ अंक जोडेको छ । पराजित लेभान्टे समान खेलबाट चार अंकका साथ १६औं स्थानमा छ ।
सिउडाड डे भ्यालेन्सिया रंगशालामा पाहुना टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पेले दुई तथा भिनिसिय जुनियर र फ्रान्को मस्तन्टुओनोले समान एक गोल गरे । लेभान्टेका लागि एटा इयोङ्गले गोल फर्काए ।
खेलको २८औं मिनेटमा जुनियरको गोलमार्फत रियालले अग्रता लिएको थियो । १० मिनेटपछि नै मस्तन्टुओनोले टोलीको अग्रता दोब्बर बनाए ।
इयोङ्गले ५४औं मिनेटमा गोल गर्दै लेभान्टेलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर ६४औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दा रियाल ३-१ ले अगाडि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै एमबाप्पे व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।