काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो अन्तिम खेलमा मंगलबार चेन्नई सुपर किङ्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको छ ।
जितसँगै १४ खेलमा आठ अंक जोडेको राजस्थान नवौं स्थानमा छ । पराजित चेन्नई १३ खेलबाट ६ अंकका साथ पुछारमा छ ।
दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा चेन्नईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य राजस्थानले १७.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
राजस्थानका लासिग वैभव सूर्यवंशीले ३३ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी कप्तान सन्जु सामसनले ४१, यशस्वी जैसवालले ३६, ध्रुव जुरेलले अविजित ३१ र सिम्रन हेटमायरले अविजित १२ रन बनाए ।
दोस्रो विकेटका लागि वैभव र सन्जुले ९८ रनको साझेदारी गरेका थिए । चेन्नईका लागि रविचन्द्रन आश्विनले दुई तथा नुर अहमद र अन्शुल कम्बोजले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो ।
चेन्नईका लागि आयुश महात्रेले ४३, डिवाल्ड ब्रेभिसले ४२, शुभम दुबेले ३९, कप्तान महेन्द्रसिंह धोनीले १६ र रविचन्द्रन आश्विनले १३ रन बनाए ।
तेस्रो विकेटका लागि आयुश र रविचन्द्रनबीच ५६ रनको साझेदारी भएको थियो । राजस्थानका लागि आकाश मधवाल र युद्धवीर सिंहले समान तीन तथा तुषार देशपाण्डे र वानिन्दु हसरंगाले समान एक विकेट लिए ।