काठमाडौं । दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकप्रेरित नेपालले सोमबार सम्पन्न अभ्यास खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध १२३ रनको फराकिलो जित दर्ता गरेको छ ।
नेपालले प्रसस्तुत ३३६ रनको लक्ष्य पछ्याएको एमसिसीले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्रै बनाउन सक्यो ।
एमसिसीका लागि म्याट नोरिसले ६८ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे । यसैगरी लियाम नेलरले ५४, फ्रेन्डसले ३७ र डनले १९ रनमा बनाए ।
नेपालका सोमपाल कामीले तीन, नन्दन यादव र कुशल भुर्तेलले समान दुई तथा करण केसी, सागर ढकाल र बसिर अहमदले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ताे पाएकाे नेपालले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३३५ रनएको योगफल तयार पारेको थियो ।
नेपालका दीपेन्द्रले ६७ बलमा १२ चौका र चार छक्कासहित सर्वाधिक ११० रनको योगदान गरे । भीमले ९० बलमा १० चौका र दुई छक्काको मद्दतले १०४ रन बनाए । यी दुवै रिटायर्ड हर्ट भएका थिए ।
यसैगरी बसिर अहमदले ३७, अनिलकुमार साहले २७ र करण केसीले अविजित १६ रन जोडे ।