काठमाडौं । ब्वाइज युनियन क्लबविरुद्ध २-१ को जित निकाल्दै श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । श्री भगवतीले पहिलाे पटक शीर्ष डिभिजनकाे उडान भरेकाे हाे ।
जितसँगै दोस्रो स्थामा रहेको भगवतीले १२ खेलमा २६ अंक जोड्यो । पराजित ब्वाइज युनियन १२ खेलमा १९ अंकका साथ तेस्रो स्थानमा छ ।
भगवती शीर्ष डिभिजनको यात्रा तय गर्ने दोस्रो टोली हो । प्लानिङ ब्वाइज युनाइटेड यसअघि नै शीर्ष डिभिजनमा उक्लिसकेको थियाे ।
यसैगरी यो सिजन श्री टुसाल युथ क्लब र नयाँबस्ती युथ क्लब तेस्रो डिभिजनमा झरेका छन् ।
मंगलबारसातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भगवतीलाई जित दिलाउन शिशिर लेखी र अजित लामाले गोल गरे । ब्याइज युनियनका सञ्जीव लामाले गोल फर्काए ।
खेलको छैटौं मिनेटमै शिशिरको गोलमार्फत भगवतीले अग्रता लिएको थियो । ३८औं मिनेटमा अजितले टोलीको अग्रता दोब्बर बनाए ।
सञ्जीवले ७९औं मिनेटमा गोल गर्दै ब्याइज युनियनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।