काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा बिहीबार नेपाल आइपुग्ने भएकी छन् ।
व्यवसायी फुटबलका लागि ग्रिसमा रहेकी अञ्जिला सिजनको अन्त्यसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन आउन लागेकी हुन् । उनी बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छिन् ।
उनको निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलेकी थिइन् । अञ्जिालाको टोलीले २२ खेलमा पाँच जित चार बराबरी र १३ हारको नतिजासहित १९ अंकका साथ नवौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।
यसैगरी व्यवसायी फुटबलका लागि फ्रान्स पुगेकी स्ट्राइक सावित्रा भण्डारी भने केही दिनपछि मात्रै राष्ट्रिय टोलीमा जोडिने भएकी छन् ।
लिग केही दिन अगाडि नै सकिएको भए पनि सावित्रा कार्यक्रममा सहभागी हुन बेलायत पुगेकी छन् । त्यहाँबाट फर्किएपछि उनी राष्ट्रिय टोलीसँग जोडिने बताइएको छ ।
सावित्राले एन एभेन्ट गेङगाम्पबाट फ्रेन्च महिला शीर्ष डिभिजन लिग डिभिजन वान फिमिनिने खेलेकी थिइन् । उनको टोली २२ खेलमा तीन जित र १९ हारको नतिजा सहित ९ अंकका साथ पुछारमा रहेर रेलिगेसनका परेको थियो ।
नेपालले मे ३० र जुन २ मा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले एएफसी महिला एसियनकप छनोटको तयारीस्वरुप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल लागेको हो ।
छनोटको पहिलो चरण मे ४ बाट सुरु हुँदैछ । समूह ‘एफ’ मा नेपाल, लाओस, श्रीलंका र उज्वेकिस्तान छन् ।