काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगको रेलिगेसन समीकरण पूरा भएको छ । मंगलबार पुछारबाट तेस्रो स्थानमा रहेको आरसीटीले पाँचौं स्थानको वीरगंज युनाइटेडसँग १–१ को बराबरी खेलेसँगै श्री टुसाल युवा क्लब रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न १२औं चरणको खेलमा बराबरी नतिजा ल्याएसँगै आरसीटी १५ अंक जोड्दै ११औं स्थानमा उक्लियो । दोस्रो डिभिजनको हैसियत गुमाएको टुसालको समान खेलबाट मात्र ११ अंक छ । नयाँबस्ती युवा क्लब यसअघि नै रेलिगेसनमा परिसकेको छ ।
मंगलबार आरसीटीका लागि प्रज्वल गुरुङले दोस्रो हाफको तेस्रो मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । तर, त्यो अग्रता धेरै बेर टिक्न सकेन । ५८औं मिनेटमा वीरगंजका लागि सञ्जय चौधरीले बराबरी गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीले केही अवसर सृजना गरेपनि गोल भने गर्न सकेनन् । यो नतिजासँगै यसअघि नै रेलिगेसनको खतराबाट बाहिरिसकेको वीरगंज १७ अंकका साथ पाँचौं स्थानमा यथावत रह्यो ।
दिनको दोस्रो खेलमा दोस्रो स्थानको श्री भगवती क्लबले तेस्रो स्थानको ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दिउँसो ३ः३० बजे सुरु हुने खेल एन्फा मुख्यालय मैदानमै हुनेछ । यदि यो खेलको नतिजा श्री भगवतीको पक्षमा जाने हो भने उसले शीर्ष डिभिजनमा स्थान बनाउनेछ । श्री भगवतीभन्दा चार अंकले पछाडि रहेको ब्वाइज युनियन क्लबलाई जित्नै पर्ने दबाब छ । लिगमा प्लानिङ ब्वाइज युनाइटेड च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिसकेको छ ।